Homeसमाचारसागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।

राजनीतिलाई आजीवन पेसा बनाएकाहरु, पटक पटक परीक्षण भइसकेकाहरुको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको भन्दै डडेलधुरामा सुई निर्वाचन चिह्न लिएर चुनावी प्रतिष्पर्धामा रहेका ढकाललाई समर्थन गर्ने निर्णय गरिएको पार्टीको आधिकारिक पेजमा उल्लेख गरिएको छ ।

पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ‘राजनीतिलाई आजिवन पेसा बनाएकाहरु, पटक पटक परिक्षण भइसकेकाहरुका बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक छ । यसपटकको निर्वाचन परिणामबाट प्राप्त हुने धेरै लक्ष्यहरु मध्येमा पुरानालाई बिदा गर्ने लक्ष्य पनि प्रमुख लक्ष्य हो ।

राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ । यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुइ) निर्वाचन चिन्ह लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निशर्त समर्थन गर्दछ । ‘

यो संगै पार्टीले आफ्ना गतिबिधि पार्टीको आधिकारिक पेजबाट सार्वजनिक हुने भएकाले अन्यत्र कुनै व्यक्ति वा समूहबाट सार्वजनिक हुने टिप्पणीहरुलाई आधिकारिक नमानीदिनु हुन अनुरोध गरेको छ ।

चितवन, काठमाण्डौँ ४ लगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले तालमेल वा गठबन्धन गरेर उम्मेदवारी फिर्ता गरेको भन्ने बारेमा आएका समाचारहरुको खन्डन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै किसिमको तालमेल नगरेको र नगर्ने व्यहोरा पनि जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read