HomeUncategorizedआज शुक्रबारबाट दुई नयाँ फिल्म नेपाली फिल्म ‘डिग्री माइला’ र ‘द रेड...

आज शुक्रबारबाट दुई नयाँ फिल्म नेपाली फिल्म ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ प्रदर्शनमा

यस बर्षको अन्तिम दिन आज शुक्रबारबाट दुई नयाँ फिल्म नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ फ्राईडे रिलिज अन्तर्गत दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिका छ । अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि ‘डिग्री माइला’ नाटकसमेत मञ्चन भएको थियो । फिल्म सोही नाटकमा आधारित रहेको छ । फिल्मको बिहीबार साँझ प्रिमियर भएको थियो । जसमा फिल्म मन परेको धेरैले प्रतिक्रिया दिएका थिए ।

फिल्ममा दयाहाङ र आँचलसँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय छ । अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिन्छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ ट्यागलाइन बनाएको फिल्म बाँसुरी फिल्मसले कबड्डी फिल्मस तथा सुष्मा फिल्मससँग मिलेर निर्माण गरेको हो ।

फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् ।

‘द रेड सुटकेस’ भने फिडेल देवकोटा निर्देशित विश्व चर्चित फिल्म हो । डेढ दर्जन बढी अन्तर्राष्ट्रिय फेस्टिभलमा छानिएर पुरस्कार समेत जित्न सफल फिल्मको बुधबार मंगलबार प्रिमिएर भएको थियो । जसमा फिल्म हेर्ने अधिकांशले एउटा अनौठो र दुर्लभ शैलीको फिल्मको रुपमा ‘द रेट सुटकेस’ लाई प्रिमियरमा चर्चा गरेका थिए ।

फिल्म नेपालका क्युएफएक्स चेनका सिनेमा घरबाहेक बाँकी सबै हलमा प्रदर्शनमा आएको छ । फिल्म काठमाडौँका बिग मूभिज, आईएनआई सिनेमा लोत्सेमल, एफक्युव सिनेमा चावहिल, वान सिनेमा बानेश्वर, रञ्जना सिनेप्लेक्स, बिएसआर मूभिज गोङ्गबु, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाज सितापाईला, सिटीम्याक्स सिनेमा, वान सिनेमा कालिमाटी, इन्फिनिटी मूभिज गोङ्गबु, आईएनआई सिनेमा नयाँ बानेश्वर, सि डिसी सिनेमाज सुन्धारा, कमलविनायक सिनेमाज भक्तपुरमा प्रदर्शन भएको बताइन्छ ।

फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ लगायतको मुख्य भूमिका छ । फिल्मको सम्पादन श्रीलङ्कामा समन अलभितिगाले गरेका हुन् भने छायाकार सुसन प्रजापति हुन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो फिल्मका अन्य निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह–निर्मातामा श्रीलङ्काका विमुक्ति जयसुन्दरा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read