Homeस्वास्थ्यकोराेनाविरुद्धको खोपको बुस्टर डोज आजदेखि, कसले पाउँछन्?

कोराेनाविरुद्धको खोपको बुस्टर डोज आजदेखि, कसले पाउँछन्?

सरकारले आज (आइतबार) देखि कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपंक्तिका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो। सोही निर्णय अनुसार आजबाट अग्रपंक्तिमा खटिने व्यक्तिलाई दिन लागिएको हो।

स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिनेलाई आजदेखि र ६० वर्षदेखि माथिका नागरिकहरुलाई १४ गतेदेखि बुस्टर डोज दिन लागिएको हो।

स्वास्थ्य मन्त्रालयको २८ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ।

यसका लागि आवश्यक व्यवस्था गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई विभागले पत्र काटेको छ।

मन्त्रालयका अनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन्। यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने स‌घ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइनेछ।

आउँदो १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई समेत बुस्टर डोज खोप लगाउने तयारी छ। रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read