Homeसमाचारआफ्नै फार्मेसी सञ्चालनमा ल्याउदै काठमाडौं महानगर

आफ्नै फार्मेसी सञ्चालनमा ल्याउदै काठमाडौं महानगर

काठमाडौं महानगरले आर्थिक वर्ष ०८०/८१ मा ‘सुलभ फार्मेसी’ कार्यक्रमअन्तर्गत आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने तयारी गरेको छ । निजी फार्मेसीहरूले औषधिमा लिँदै आएको चर्को शुल्क नियन्त्रण र मूल्यमा एकरूपता ल्याउन सात स्थानमा फार्मेसी खोल्न लागेको हो ।

फार्मेसी महानगरको स्वास्थ्य विभागले चलाउनेछ । यसको स्थापनाका लागि सात करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विभागले सोहीअनुसारको लागत इस्टिमेटसहित उपमेयरको संयोजकत्वमा रहेको बजेट निर्माण समितिलाई विवरण पठाएको छ । मेयर बालेन्द्र साह शिक्षा र स्वास्थ्यमा केन्द्रित देखिएकाले उक्त कार्यक्रम आगामी आर्थिक वर्षभित्रै सम्पन्न हुने धेरैको अनुमान छ । यी फार्मेसी सबैभन्दा बढी जनघनत्व भएका वडामा सञ्चालन गरिनेछ ।

महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जनघनत्व बढी भएका क्षेत्रमा फार्मेसी चलाउने र निजी फार्मेसीमाथि पनि नियमन गर्ने बताए । उनका अनुसार फार्मेसीमा सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधि, स्वास्थ्य बिमा कार्यक्रमसहित अन्य औषधिसमेत सुपथ मूल्यमा पाइनेछ । ‘हामीले नै फार्मेसी खोल्यौँ भने निजी फार्मेसीलाई नियमन गर्न सहज हुन्छ,’ उनले भने, ‘उनीहरू आफैँ पनि मूल्य घढाउन बाध्य हुन्छन्, सकेसम्म फार्मेसी सेवा सहज गराउँछौँ ।’

चालू आव ०७९/८० मा महानगरले स्वास्थ्यतर्फ ४५ करोड बजेट विनियोजन गरेकोमा आर्थिक वर्ष ०८०/८१ मा यसलाई वृद्धि गर्ने तयारी छ । महानगरको शिक्षा विभागका अनुसार आगामी आवका लागि एक अर्ब ४७ करोड बजेट माग गरिएको उपमेयरको संयोजकत्वमा रहेको बजेट समितिलाई प्रतिवेदन बुझाएको छ । सोहीअनुसार बजेट विनियोजन भए स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न सकिने विभाग प्रमुख पौडेलले जानकारी दिए । ‘गत वर्षभन्दा यो वर्ष स्वास्थ्यमा बजेटको आकार वृद्धि हुन्छ,’ उनले भने, ‘तर हामीले माग गरेकै आकारमा बजेट आउँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read