रास्वपाका सांसद खगेन्द्र सुनारले प्रहरीको स्रोत–साधन खरिदमा भएको भनिएको अनियमितताबारे आफूले उठाएको प्रश्नमा अडिग रहेको बताएका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी विवरण १५ दिनभित्र उपलब्ध गराउन माग गरिएको भए पनि त्यसको अवस्था स्पष्ट नभएको बताए। उनले त्यसबीच प्रहरीले करोडौँ रुपैयाँको टेन्डर आह्वान गरेको भन्दै प्रश्न उठाए।
‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ,’ उनले भने।
सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको दाबी गर्दै आफूले यसअघि उठाएको प्रश्नमा अडिग रहेको बताए।
‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ उनले भने।
आफ्नो अभिव्यक्तिले कसैको मानमर्दन भएको महसुस भए अदालत गएर कानुनी प्रक्रिया अघि बढाउनसमेत उनले चुनौती दिए।
‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु,’ सुनारले भने।
सार्वभौम समितिको बैठकमा व्यक्तिगत आरोप–प्रत्यारोप र जुहारी खेल्ने अवस्था सिर्जना गर्न नहुने उनको भनाइ थियो। ‘तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,’ उनले थपे।
