प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको विकास, संरक्षण तथा प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रको संस्थागत विकास, नीतिगत सुधार तथा परम्परागत कला र सीपको संरक्षण सरकारको प्राथमिकतामा रहेको बताए।
उनले हस्तकला क्षेत्रमार्फत रोजगारी सिर्जना, उत्पादनको प्रवर्द्धन तथा नयाँ पुस्तामा परम्परागत सीप हस्तान्तरणका लागि आवश्यक नीति र कार्यक्रम अघि बढाइने उल्लेख गर्दै व्यवसायीहरूको जायज माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए।
छलफलका क्रममा महासंघका पदाधिकारीहरूले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन, हस्तकला दिवसलाई राष्ट्रियस्तरमा मनाउने व्यवस्था तथा हस्तकला क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग माग गरेका थिए।
महासंघले हस्तकला दिवसलाई राष्ट्रिय कार्यक्रमका रूपमा मनाउनुपर्ने प्रस्ताव राखेपछि प्रधानमन्त्री शाहले यस सम्बन्धमा आवश्यक समन्वय गर्न गृह मन्त्रालयसँग पहल गर्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीले व्यवसायीहरूले उठाएका विषयमा सकारात्मक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
