वैदेशिक रोजगारीका नाममा चर्को रकम असुल्न खोज्ने एक म्यानपावर कम्पनीका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीका अजय कुमार यादवलाई मलेसिया पठाइदिने भन्दै अवैध रूपमा ३ लाख रुपैयाँ मागिएको घटनामा प्रहरीले हस्तक्षेप गरी उनलाई ठगिनबाट जोगाएको हो ।
मलेसियामा सेक्युरिटी गार्डको कामका लागि जान लागेका यादवको उडान वैशाख २९ गते तय भएको थियो । सरकारले लागू गरेको ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार मलेसिया जाने कामदारबाट अधिकतम १० हजार रुपैयाँ मात्रै लिन पाइने व्यवस्था भए पनि कोटेश्वरस्थित ग्रान्ड स्विट जब म्यानपावर ले उनीसँग ३ लाख १० हजार रुपैयाँ मागेको थियो ।
पीडित यादवले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए । तर बाँकी रकम नतिरेसम्म राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै म्यानपावरले रोक्का राखेको आरोप छ । म्यानपावरले पछि १० हजार रुपैयाँ छुट गरिदिने भन्दै ३ लाख रुपैयाँमा कुरा मिलाएको बताइएको छ ।
आर्थिक अभावका कारण विदेश जान नपाएका यादवले आफ्नो समस्या श्रममन्त्री रामजी यादव को सचिवालयमा जानकारी गराएका थिए । त्यसपछि मन्त्रीका स्वकीय उपसचिव सरोज यादव, प्रहरी र सञ्चारकर्मीको टोली तीनकुनेस्थित गैरीगाउँ पुगेको थियो ।
प्रहरीका अनुसार म्यानपावरका एक कर्मचारीले अजयलाई फोन गरेर पैसा लिएर भेट्न बोलाएका थिए । पासपोर्ट र अन्य कागजात आफूसँग रहेको भन्दै ती कर्मचारीले रकम मागेपछि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिसँग चारवटा पासपोर्ट, फ्लाइट टिकट तथा अन्य कागजात बरामद भएको प्रहरीले जनाएको छ । ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको देशमा ३ लाख रुपैयाँ मागिएको विषयमा सोधपुछ गर्दा ती कर्मचारी स्पष्ट जवाफ दिन नसकेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी हस्तक्षेपपछि यादवको राहदानी, श्रम स्वीकृति, बिमा तथा हवाई टिकट फिर्ता गरिएको छ । उनी आइतबार मलेसिया उड्ने तयारीमा रहेका छन् ।
पीडित यादवले म्यानपावरले सुरुमा पैसा नलाग्ने बताए पनि भिसा आएपछि ठूलो रकम माग्दै धम्क्याएको गुनासो गरेका छन् । उनले वैदेशik रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न कडा कारबाही आवश्यक रहेको बताए ।
श्रममन्त्रीको सचिवालयले वैदेशिक रोजगारीमा जाँदा कुनै समस्या परे श्रम मन्त्रालयमा सिधै सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
