पाकिस्तानमा आजदेखि सुरु भएको काभा पुरुष भलिबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपाल काजकस्तानसँग पराजित भएको छ।
रोमाञ्चक प्रतिस्पर्धामा नेपालले काजकस्तानसँग ३–२ को सेटमा हार बेहोरेको हो। काजकस्तानले पहिलो सेट २५–१९, दोस्रो सेट २५–२१ र निर्णायक पाँचौँ सेट १५–९ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्यो। नेपालले भने तेस्रो सेट ३४–३२ तथा चौथो सेट २५–१९ ले जित्दै खेललाई पाँचौँ सेटसम्म पुर्याएको थियो।
साउन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, उज्वेकिस्तान, बङ्गलादेश र श्रीलङ्का सहभागी छन्। प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ, जहाँ शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
यो प्रतियोगिता नेपाली पुरुष भलिबल टोलीका लागि विशेष रहेको छ। नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआईभीबी) को विश्व वरीयतामा गणना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो।
प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा १२ सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट रहेका छन्।
