स्पेनले विश्वकप फुटबलको फाइनलमा १६ वर्षपछि स्थान सुरक्षित गरेको छ। बुधबार बिहान सम्पन्न सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन उपाधि भिडन्तमा पुगेको हो।
स्पेनले खेलभर प्रभावशाली प्रदर्शन गर्दै फ्रान्सलाई दबाबमा राख्यो। पहिलो हाफमा अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप एक गोल गर्दै सहज जित हात पार्यो।स्पेनका लागि पहिलो गोल २२औँ मिनेटमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गरे। फ्रान्सका लुकास डिनले लामिन यामाललाई फउल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै ओयारजाबालले टोलीलाई अग्रता दिलाएका हुन्। रियल सोसिडाडका २९ वर्षीय फरवार्ड ओयारजाबालको जारी विश्वकपमा यो पाँचौँ गोल हो।
स्पेनका लागि दोस्रो गोल पेड्रो पोरोले ५८औँ मिनेटमा गरे। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा स्पेनले २–० को जित निकाल्दै फाइनल यात्रा तय गर्यो। यससँगै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको छ भने फ्रान्सको उपाधि जित्ने सपना सेमिफाइनलमै समाप्त भएको छ।
