यम थापाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ। फिल्मका दृश्य समेटेर तयार गरिएको लिरिकल भर्सनको उक्त गीतमा समीक्षा अधिकारी, दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङ को स्वर रहेको छ। साथै, कोरसमा गुराँस ठकुरी र गायत्री राना मगर को आवाज सुन्न सकिन्छ।
गीतमा शब्द तथा संगीत जयन जे वाइवा को रहेको छ। फिल्मको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ ले युट्युबमा १ करोडभन्दा बढी भ्युज प्राप्त गरेपछि निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीत ‘मिठो संसार’ मा फिल्मका कलाकार स्वस्तिमा खड्का, प्रशंसा सुवेदी र बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन्। निर्माण पक्षका अनुसार यो गीत फिल्मको कथासँग प्रत्यक्ष रूपमा जोडिएको छ। गीतमार्फत आमा र छोरीबीचको प्रेम, आमाको माया तथा छोरी हुर्काउनका लागि गरिएको संघर्ष चित्रण गरिएको छ।
बर्दियाको राजापुर मा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टल लगायत कलाकारको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदी ले डेब्यु गर्दैछन्। फिल्मका निर्माता दीपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन्। फिल्म आगामी वर्ष वि.सं. २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ।
