सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा २७ दिनपछि परिवारले शव बुझ्ने भएका छन्।
जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा संलग्न चार जना अभियुक्तलाई बाल सुधार गृह पठाउने आदेश दिएपछि परिवार शव बुझ्न सहमत भएको हो। परिवारका अनुसार बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने तयारी गरिएको छ।
वीरेन्द्रनगर नगरपालिका–१ मा फागुन २३ गते इनिशा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो। सुरुआतमा शंकास्पद देखिएको घटनामा पछि बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।
घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै विभिन्न चरणमा प्रदर्शनसमेत भएका थिए। पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण तथा अन्य तथ्य संकलनमा समय लाग्दा शव लामो समयसम्म अस्पतालमै राखिएको थियो।
कानुनी प्रक्रिया पूरा भएपछि मात्रै परिवारले शव बुझ्ने सहमति जनाएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको छ।
