संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपालले दुर्गा प्रसाईँबारे प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जानकारी रहेको बताएका छन् ।
उनले प्रसाई आफै नभागेर राज्यले भगाएको बताएका छन्। काठमाडौंबाट बाहिरिएपछिको हरेक चेकिङको क्रममा प्रहरीले ‘दुर्गा दाई हुनुहुँदोरहेछ’ भनेर स्याल्यूट गर्दै पठाएको उनको दाबी रहेको छ । उक्त कुरा प्राप्त सीसीटिभी फुटेजले समेत साबित गर्ने अधिवक्ता नेपालको दाबी छ ।
नेपाल भन्छन , ‘ दुर्गा प्रसाईँज्यूको बारेमा केपी ओलीज्यूलाई र रमेश लेखकज्यूलाई थाहा छ । राज्यले गोली हानेर लखेट्यो, उहाँले प्लिज यो अश्रुग्यास प्रहार नगर्दिनुस् भन्दै हुनुहुन्थ्यो । अब भागेको होईन, गोली हानेर भगाएको हो । प्रहरीले गाडीमा जानु पूर्व नै उहाँलाई पक्राउ गर्न सक्थ्यो । करिडोर नै करिडोर उहाँ जानुभयो । यसरी काठमाडौंको गाडी यहाँबाट बाहिर जाँदा धेरै ठाउँमा चेक गर्छ प्रहरीले ।’
उनले भने, ‘प्रहरीले गाडीभित्र कतिजना प्यासेन्जर छन् पनि हेर्छ । म जाँदा पनि गरेको छ । अब हरेक ठाउँमा दुर्गा प्रसाईँलाई देखेपछि प्रहरीले ‘दुर्गा दाई हुनुहुँदोरहेछ’ भनेर स्याल्यूट गर्दै पठाएको छ । हरेक ठाउँमा चेक भएको छ । सबै ठाउँमा सिसिटिभी फुटेजमा देखिन्छ दुर्गा प्रसाईँज्यूको गाडी । गोली हानेर लखेट्ने अनि भाग्यो भन्ने ?’
