Homeसमाचारकोरियाको रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, यसरि दिनुहोस अनलाईनबाट आवेदन

कोरियाको रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, यसरि दिनुहोस अनलाईनबाट आवेदन

कोरियाको कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि जान इच्छुक नेपालीले आउँदो पुस ४ गतेदेखि ८ गते अर्थात् १९ डिसेम्बर देखि २३ डिसेम्बर भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । परीक्षा आवेदन अनलाइनबाट मात्र दिन सकिन्छ । आवेदन फारम https://eoers.epsnepal.gov.np मा गई भर्न सकिन्छ । आवेदन भर्ने तरिका पनि यही पेजमा गएर हेर्न सकिन्छ ।

कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ गतेदेखि माघ २७ गतेसम्म हुने छ भने दोस्रो चरणको परीक्षा फागुन ८ गतेदेखि फागुन २६ गतेसम्म हुनेछ । सबै परीक्षाहरू काठमाण्डौमा नै सञ्चालन हुने छ । एक दिनमा ४ सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ । तर आवेदकको सङ्ख्या र अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल पनि हुन सक्ने छ ।

यस्तै भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको पहिलो चरणको सीप परीक्षण फागुन ३ गतेदेखि ५ गतेसम्म हुने छ भने दोस्रो चरणको सीप परीक्षण चैत १ गतेदेखि ३ गतेसम्म हुनेछ ।

भाषा परीक्षामा प्राप्त गरेको अङ्कको आधारमा अधिकतम अङ्क प्राप्त गर्ने मध्ये रोष्टरमा सूचीकृत गर्न पहिलो चरण र दोस्रो चरणमा गरी पास भएका करिब ६ हजार जनाको अन्तिम नजिता प्रकाशित हुने पनि शाखाले जनाएको छ । तर कोरियाको मागको आधारमा उत्तीर्णको सङ्ख्यामा थपघट पनि हुन सक्ने छ । भाषा र सीप परीक्षण दुवैमा पास भएकाहरुले मात्र कोरियाको रोजगार आवेदन फारम भर्न पाउने छन् ।

आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनु पर्ने छ भने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नभएको हुनुपर्छ । थप जानकारी ईपीएस कोरिया शाखाको वेबसाइटमा गएर हेर्न सकिन्छ ।

यसअघि नै पनि कोरिया गएर गैह्र कानुनी गतिविधिमा संलग्न भएर वा गैह्र कानुनी रूपमा कोरियामा बसेर फर्किएको भएमा आवेदन फारम भर्न पाइने छैन । कोरियामा ई ९ र ई १० भिसामा पाँच वर्ष भन्दा कम अवधि बसेको भएमा भने फारम भर्न मिल्छ ।

परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्ने छ । आवेदकले फारम दर्ता गराउने दिन वा त्यसको अघिल्लो दिन २८ डलर बराबर नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैङ्कको जुनसुकै शाखा र आइएमई पे, फोन पे, ई सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत तिर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read