दैलेखको आठबीस नगरपालिका- ६ को डौंठेगडाका खड्क दमाईले आफ्नी श्रीमती डल्ली दमाईको उपचारमा आर्थिक सहयोग गरेर ज्यान बचाइदिन आग्रह गरेका छन् ।
डल्लीको मुटुमा दुई प्वाल परेकाले भल्व पनि बदल्नुपर्ने डाक्टरले बताएको उनले बताए । उनी शहिद गंगालाल अस्पताल काठमाडौंमा जेठ ६ गते देखि श्रीमतीको उपचारमा खटिरहेका छन् ।
पाँच सन्तानकी आमा डल्लीको आर्थिक अवस्था नाजुक त थियो नै, रोगले समेत बढि च्यापेको छ । विगत पाँच ६ वर्ष पहिले देखि नै विरामी पर्ने गरेकी डल्लीको स्थानीय मेडिकलहरुमा जेनतेन उपचार गराउँदै आएका थिए खड्कले । तर अहिले बढि नै च्यापेपछि अप्रेसन नै गर्ने निष्कर्षमा उनी पुगेका छन् ।
भारतका विभिन्न शहरमा ज्याला मजदुरी गरेर जहान बालबच्चा पाल्दै आएका खड्को हालसम्म १ लाख ५० हजार भन्दा बढि खर्च भइसकेको छ । यो रुपैयाँले उनको घरखेत नै जाने सम्भावना पनि देखिएको छ ।
‘अहिलेसम्म १७ हजार रुपैंया संकलन भएको छ । अरु उपचार गर्न मलाई निक्कै समस्या भइसक्यो ।’ अस्पताको शैयामा श्रीमतीको कुरुवा बसेका खड्कले नेपालप्रेससँग भने, ‘कोही नहुनेको भगवान हुन्छ भन्थे, भगवानरुपि मानवले सहयोग गर्छन कि भन्ने आशा बाँकी छ ।’
उनले आफ्नो कतै पहुँच नभएका कारण पनि उपचारमा आर्थिक सहयोग जुटाउन नसकेको बताए । उनका सहयोगी बमबहादुर थापाका अनुसार ३८ वर्षीया डल्लीको उपचारमा सहयोग गर्न चाहनेले ९८४४९१५६७८ मा सम्पर्क गर्न साथै कृषि विकास बैंक महाराजगञ्ज शाखास्थित खड्क दमाईको ०२१०४०५११६०११०१० खातामा रकम जम्मा गर्न सक्नेछन् ।