युवा पुस्तामाझमा चर्चित गायक स्वप्न सुमनले विवाह गरेका छन्। उनले अभिनेत्री ज्योत्सना योगीसँग विवाह गरेका हुन्।
गत बुधबार भएको उनीहरुको वैवाहिक कार्यक्रममा परिवारभित्रका सदस्यहरुलाई आमन्त्रण गरिएको बताइएको छ। सानो जमघटका बीच दुई विवाह बन्धनमा बाँधिएका हुन्।
उनीहरुको विवाहको कार्यक्रम कमलपोखरीस्थित एक होटलमा भएको थियो। अभिनेत्री योगीले सामाजिक सञ्जालमार्फत आफूहरु विवाहबन्धनमा बाँधिएको जानकारी दिएकी छिन्।
युट्युबबाट आफ्नो गायन यात्रा सुरु गरेका गायक सुमनका थुप्रै गीतहरु युवापुस्ता माझमा चर्चित छन्। सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो।
‘कसरी भनुँ तिमीलाई’ देखि ‘हराउन देउ’ जस्ता थुप्रै चर्चित गीतहरु उनले दिएका छन्। यता अभिनेत्री योगी भने विभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा काम गरेकी छिन्। उनी सन् २०७३ मा प्रदर्शनमा आएको फिल्म ‘म त तिम्रै हुँ’मा मुख्य अभिनेत्रीको रुपमा देखिएकी थिइन्।