नायक तथा मोडल पल शाह यतिबेला तनहुँ जिल्ला कारागार छन्। बलात्कार आरोपमा पल यतिबेला कारागारमा रहेका हुन्।
गायक दुर्गेश थापाले कारागारमै पुगेर बलात्कार आरोपि अभिनेता पल शाहलाई भेटेका छन् । पललाई भेट्न दुर्गेश आफ्नी श्रीमती र छोरालाई समेत लिएर जिल्ला कारागार कार्यालय तनहुँमा पुगेका थिए ।
पल प्रकरणमा नाबालिग गायिकालाई उक्साएको आरोप दुर्गेशमाथि लागेको थियो । पल स्वयम्ले दुर्गेशसहितका केही साथीहरुले आफूविरुद्ध षडयन्त्र गरेको भन्दै भिडियो सार्वजनिक गरेका थिए । त्यसयता पलका समर्थकहरु दुर्गेससँग आक्रोशित छन् ।
जिल्ला अदालत तनहुँमा नाबालिग गायिका र उनका पिताले बयान फेरेसँगै यो प्रकरणमा ट्वीस्ट आयो । दुर्गेशले पनि अदालतमा पललाई सहयोग पुग्ने गरी बयान दिए । उक्त बयानपछि दुर्गेश र पलबीच फेरी सम्वन्ध सुधारिएको अनुमान लगाईएको छ। त्यसो त दुर्गेशले प्रहरीलाई दिएको बयानमा पनि पलमाथि कुनै आरोप लगाएका थिएनन् ।
हिजो कारागारमा भएको भेटमा दुर्गेश र पलबीच करिब ३० मिनेट अन्तरंग कुराकानी भएको थियो । भावुक माहोलमा भएको कुराकानीमा दुवैले मन माझामाझ गरे । दुर्गेशले आफू सपरिवार बाग्लुङ जाने क्रममा तनहुँ कारागारमा पललाई भेट्न गएको बताएका छन् । आफूले भेट्दा पल प्रफुल्लित र आत्मविश्वासी मुद्रामा देखिएको उनले जानकारी दिए ।
कुराकानीमा पल आफु जेलबाट चाँडै निस्किनेमा ढुक्क देखिएका बताए । दुर्गेशका अनुसार अरुले ५–१० मिनेट मात्रै भेट्ने पलले उनीसँग लामो कुराकानी गरेका थिए । भेटका क्रममा दुर्गेशका छोराले पलको कानमा फुल सिउरिदिएका थिए ।
दुर्गेश भन्छन ,‘हाम्रो सम्वन्ध कहिले पनि बिग्रेको थिएन, अरुले बीचमा गेम खेलेर हामीलाई लडाइदिएका मात्र हुन् । म उहाँलाई पहिले जति माया गर्थेँ, अहिले पनि त्यति नै माया गर्छु,’ दुर्गेशले भने, ‘जेलबाट निस्केपछि सबै कुरा उहाँले नै क्लीयर गर्नुहुनेछ, मैले अहिले भनेर कसैले पत्याउँदैन ।’
बाग्लुङबाट काठमाडौं फर्किँदा फेरि पललाई भेट्न जाने उनले बताए । अर्कोपाली भेट्दा केही उपहार पनि लैजाने उनले सोच बनाएका छन् । ‘बाहिरबाट खानेकुराहरु लैजान सकिने रहेछ, हिजो थाहा भएन,’ उनले भने, ‘अर्को चोटि भेट्दा चाहिँ केही खानेकुरा उपहारका रुपमा लैजानेछु ।’