लामो समयपछि पूर्वमनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको कारण पछिल्लो केहि दिन यता देशका विभिन्न भागहरुमा बर्षा भैरहेको छ।
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली छ ।
आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना छ ।
मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । यस्तै, केही दिनयता मौसम बद्ली भइ पानी परेसँगै देशभरको तापक्रम घटेको छ । तापक्रम घट्दा गर्दा गर्मी कम भएको छ । यसअघि पानी पर्न नसक्दा तातो हावा र गर्मीले जनजीवन प्रभावित भएको थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन प्रि मनसुन सक्रिय रहनेछ । मौसमविद् समीर श्रेष्ठले भने, “दिउँसोको समयमा केही स्थिर रहेर कतै–कतै आकाश खुल्नेछ । तर, बिहान साँझ देशका धेरै भेगमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने सम्भावना रहेको छ ।”
उहाँका अनुसार लगातार जलवाष्पयुक्त वायुको प्रवेशले प्रि मनसुन अघिल्ला समयभन्दा लम्बिएको हो ।