Homeअन्तर्राष्ट्रियआङ सान सू चीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्ष जेल सजाय

आङ सान सू चीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्ष जेल सजाय

सैन्य शासनमा रहेको म्यान्मारको एउटा अदालतले गोप्य सुनुवाइपछि नेत्री आङ सान सू चीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।

सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य कूमा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छन्। सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ। उनले सबै आरोपहरूको अस्वीकार गरेकी छन् भने अधिकारकर्मीहरू अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँछन्।

राजधानीस्थित अदालतमा भएको सुनुवाइमा नागरिक उपस्थिति नहुने गरी बन्द ढोकाभित्र भएको थियो र सू चीमा वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो।

बुधवार अदालतले उनलाई म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा दोषी ठहर गरेको हो। उनलाई पाँच वर्षको जेल सजाय तोकिएको छ। यो सजायपछि उनको कूल जेल बस्नुपर्ने समय ११ वर्ष पुगेको छ।

गत डिसेम्बरमा उनलाई कोभिड नियम तोडेको मुद्दामा र ज्यानुअरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।

सू चीमाथि अझै १० अन्य भ्रष्टाचारका मुद्दाहरू छन् र ती प्रत्येकमा उनलाई अधिकतम १५ वर्षको जेल सजाय हुन सक्छ। उनीमाथि चुनावमा धाँधली गरेको र राज्यको गोप्य सूचना चुहाएको मुद्दा पनि छ।

उनका समर्थकले उनलाई जीवनभर जेल हाल्नका लागि सैन्य शासकले उनीमाथि गलत मुद्दा लगाएको मान्छन्। सबै मुद्दामा दोषी ठहरिए उनलाई १९० वर्षसम्म जेल सजाय हुनसक्ने आकलन गरिएको छ।

संयुक्त राष्ट्रसङ्घ र अन्य अधिकार समूहले अदालती कारबाहीलाई नाटक बताएका छन्। म्यान्मारको सैन्य शासकले भने सू चीले निष्पक्ष सुनुवाइ पाएको दाबी गर्छ।

बीबीसीको सहयोगमा

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read