Homeसमाचारधादिङमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु

धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु

धादिङमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिका–७ जुगेखोलामा बस र कार आपसमा ठोक्किएर भएको दुर्घटनामा कारमा सवार चार भारतीयसहित पाँच जनाले ज्यान गुमाएका हुन् ।

काठमाडौँबाट धादिङतर्फ आउदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा भारत उत्तरप्रदेशका बिमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल, राकेश अग्रवाल रहेका छन् । उनीहरु चारैजना अन्दाजी ३५ देखि ४५ वर्षका छन् ।

विमलचन्द्रको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने साधना, सन्ध्या र राकेशको काठमाडौस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका फोकल पर्सन (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए ।

नेपाल आएको टिकटमा उल्लेख भएअनुसार भारतीय चारै जना एउटै गाउँका हुन् । एउटै परिवारको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा कार चालक तनहुँका दिलबहादुर बस्नेतको पनि मृत्यु भएको छ । चालक बस्नेतको काठमाडौस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको सिसिटिभी क्यामेरामा कैद भएका दृष्य हेरेर अनसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाका इनिस्पेक्टर अपूर्व ढुंगानाले बताए ।

सामान्य घुम्ती र उकालो बाटोमा कारले ट्याक्सीलाई उछिन्ने क्रममा बसमा ठोक्किन पुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । बैशाख ७ गते नेपाल आएका उनीहरु आइतबार पोखराबाट काठमाडौँ फर्कँदै थिए । सोमबार काठमाडौँबाट दिल्ली जाने टिकटसमेत भारतीय नागरिकको साथमा फेला परेको प्रहरीले जनाएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read