अभिनेता पल शाहले आफूलाई जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले दुई सातापछि जिल्ला अदालत पूर्वीनवलपरासीमा पनि शाहले बलात्कार नगरेको बताएकी छन् ।
युवतीले अदालतमा बुधबार दिएको बयानमा गैंडाकोटमा एक वर्षअघि फिल्मी गीत छायांकनका क्रममा आफूलाई शाहले जबरजस्ती नगरेको बताएको अदालत स्रोतले जनाएको छ । पल शाहले आफूमाथि जबरजस्ती करणी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको समेत दाबी गरिन् ।
ती किशोरीले आफूले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको अभियोग लगाए तापनि वास्तविकता त्यस्तो नभएको बताएकी हुन् । बुधबार साढे ४ बजे ती किशोरीको बयान सकिएपछि उनको बुबाको बयान सुरु भएको छ । अभिनेता शाहलाई तनहुबाट बुधबार पूर्वीनवलपरासीस्थित अदालतमा ल्याइएको छ ।
गतचैत २३ गते जिल्ला अदालत पूर्वीनवलपरासीमा बयानका लागि उपस्थित गराइएका शाहलाई अदालतले बुधबार हाजिर हुन आदेश दिएअनुसार उनलाई तनहुँबाट पूर्वीनवलपरासीमा ल्याइएको हो ।
उनै किशोरीले शाहले आफूलाई बलात्कार गरेको अरोप लगाएर तनहुँ र पूर्वीनवलपरासी प्रहरीमा उजुरी गरेकी थिइन् ।
बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएकी ती किशोरीले मंगलवार जिल्ला अदालत तनहुँमा दिएको बयानमा बलात्कार नगरेको र अरुको उक्साहटमा आएर त्यस्तो आरोप लगाएको भनेर बयान फेरेकी थिइन् ।