नाबालिग गायिकामाथि जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा पीडितले बयान फेरेकी छन्।
आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको भन्दै बयान फेरेकी हुन्। प्रहरीमा दिएको जाहेरी वा बयान खण्डन हुने गरी अदालतमा बयान फेर्नुलाई ‘होस्टाइल’ भएको भनिन्छ ।
जिल्ला अदालत स्रोतका अनुसार, आइतबार अदालतमा बयानका क्रममा पीडितले अत्यन्त अस्वाभाविक व्यवहार देखाएकी थिइन् । उनले कलाकार शाहमाथि लागेका सबै आरोप निराधार भएको भन्दै खण्डन गरिन् । अनि आफू र कलाकार शाह मिल्ने साथी भएको बताइन् ।
‘सामाजिक सञ्जालमा आफूमाथि ज्यादा प्रश्न उठेकाले आवेशमा आएर उजुरी दिएको उनको भनाइ थियो’ अदालत स्रोतले भन्यो, ‘त्यसबाहेक कहिं पनि उनले आफूमाथिको घटना स्विकारिनन् । सबै झुटो हो भन्दै बयान दिइन् । अनि मुद्दाको मिसिलमा पेश भएका सबै प्रमाणहरु समेत अस्विकार गरिन् ।’
बयानका क्रममा उनी कतिबेला रोएकी थिइन् भने केहीबेरमै फेरि हाँस्थिन् । अनि एकाएक ठट्यौली शैलीमा र केहीबेरमा फेरि गम्भिर रुपमा प्रस्तुत भएको एक कर्मचारीले बताए । उनका अनुसार बालिकाका बयानका क्रममा इजलासमा उपस्थित गराइएका कलाकार शाह पनि रोएका थिए ।
यससँगै अब यस प्रकरणमा पललाई सजाय हुन्छ कि सफाइ भन्ने प्रश्नहरू पनि अघि आएका छन्। तर कानून व्यवसायीहरूका अनुसार बालिकाले बयान फेरे उनी छुट्न त्यति सहज देखिँदैन। अधिवक्ता ओमप्रकाश अर्याल शाहका अनुसार छुट्नका लागि मुद्दाको अन्तिम फैसला आउनुपर्नेछ।
पीडित बालिकाले अदालतमा बयानका क्रममा आफूमाथि बलात्कार नभएको दावी गरे पनि बलात्कारको आरोप पुष्टि हुने प्रमाणहरु मुद्दामा समावेश गरिएको छ । पीडितका बाबुले नै छोरीले आफूमाथि बलात्कार भएको भनी आफूलाई बताएको भनी जाहेरीमा खुलाएका छन् । तनहुँको घटना नियालिरहेका महान्यायाधीवक्ता कार्यालयका एक सरकारी वकिलका अनुसार, बलात्कार आरोपका प्रमाणहरुमध्ये एउटा प्रमाण मात्रै असफल भएको हो, अरु यथावत छन् ।
अहिले अभिनेता शाह पुर्पक्षको लागि थुनामा छन्। पीडित बालिकाले बयान फेरेको खबर बाहिरिएसँगै शाह चाँडै नै छुट्न सक्ने अड्कलबाजी भने भइरहेको छ। तर पीडितले बयान फेरेकै आधारमा अहिले नै अभियुक्त थुनामुक्त नहुने अधिवक्ता अर्याल बताउँछन्।
उनका अनुसार पीडितले बयान फेरेमा अदालतले सावधानी अपनाउनुपर्ने हुन्छ। “नेपालको परिवेशमा धेरै जसो ठाउँमा पीडितलाई, जाहेरवालालाई विभिन्न किसिमको प्रलोभन देखाइन्छ। ब्ल्याकमेल पनि गरेको हुन्छ। त्यो कारणले आफ्नो भनाइ परिवर्तन गर्न सक्छन्,” उनी भन्छन्, “पछि परिवर्तन गरेको भनाइलाई नै आधार मान्ने अवस्था बिरलै हो। पछिल्लो भनाइलाई सावधानी पूर्वक ग्रहण गर्नुपर्छ। किन त्यो मान्छेले जाहेरीको बेलामा एक चिज भन्यो, पछि अर्काे भन्यो भने कुन चाहिँ सत्य हो भन्ने पत्ता लगाउन उनीहरूको भनाइको मात्रै आधार नभएर अरु सबुत प्रमाण, परिस्थिती जन्य प्रमाणहरू सबै हेरेर निश्कर्षमा पुग्नुपर्छ।”