आइतबार तनहुँमा बलात्कारको उजुरी दिएकी नाबालिग गायिकाले आफ्नो बयान फेरेको विषय सार्वजनिक हुँदा भने पुजाले सामाजिक सञ्जालमार्फत् आफ्नो प्रतिक्रिया दिएकी छन्।
आइतबार पीडित भनिएकी नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएपछि उनको मुद्दामा ट्वीस्ट आएको छ।
‘धन्यवाद भगवान्’, पुजाले सामाजिक सञ्जालमार्फत् यो प्रतिक्रिया दिएकी छन्। स्मरण रहोस्, पलविरुद्ध बलात्कारको उजुरी पर्दा पुजाले निकै दु:ख पोखेकी थिइन्।
अभिनेता पल शाहविरुद्ध केही समयअघि बलात्कारको उजुरी पर्दा उनीसँगै अभिनेत्री पुजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको तयारीमा थियो। पल पक्राउ पर्दा फिल्म प्रदर्शन हुन सुरु भयो।
फिल्मको निर्माता पनि रहेकी अभिनेत्री पुजाले पल पक्राउ भएको विषयलाई आधार मान्दै फिल्मलाई निकै प्रचार पनि गरेकी थिइन् भने विभिन्न युट्युब च्यानल तथा सार्वजनिक स्थानमा अन्तर्वार्ता दिँदै उनी ‘पलविरुद्ध षड्यन्त्र’ भएको भन्दै रोएकी पनि थिइन्।
एकातिर प्रदर्शनको तयारीमा रहेको फिल्म प्रभावित होला भन्ने डरले फिल्मको प्रचारका लागि भएको पत्रकार सम्मेलनमै रुनेदेखि फिल्म प्रदर्शन हुँदा हलमा पुगेर दर्शक सामुन्ने पललाई सम्झेर भावुक हुने काम पुजाले गरेकी छन्।
आइतबार अदालती बकपत्रमा नाबालिग गायिकाले बयान फेरेको विषय सार्वजनिक हुँदा भने पुजाले ‘भगवान्लाई धन्यवाद’भन्दै आफ्नो खुसी व्यक्ति गरेकी छन्।