बलिउड अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । ‘दबंग टुर’ मार्फत उनी नेपाल आउन लागेका हुन् । त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले गर्दै आएको छ ।
सलमान खानसंगै चर्चित निर्देशक तथा कलाकार प्रभु देवा, अभिनेत्रीहरु सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेज आदि पनि नेपाल आउने छन् ।
उक्त कार्यक्रम दशरथ रंगशालामा आयोजना गरिनेछ । त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ । अनलाइन मार्फत पनि टिकट काट्ने व्यवस्था मिलाइएको छ । जसको पहिलो टिकट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काटेका छन् । उनले पाँच हजार रुपैयाँको टिकट काटेका हुन् ।
उनी सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।
कार्यक्रममा करिब ३० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । यसअघि सन् २०१८ मा उनी नेपाल आउन लागेका थिए । कोरोना महामारीका कारण स्थगित भएको थियो ।
सलमानको सफल फिल्म ‘दबंग’ कै नाममा उनले पछिल्लो केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गर्दै आएका छन् । उनको भ्रमणमा अभिनेत्री ज्याकलिन फर्नान्डेज पनि सहभागी हुँदै आएकी छिन् ।
नेपालमा आयोजित कार्यक्रममा पनि दर्जन बढी भारतीय कलाकारको टिम आउने आयोजकले जनाएको छ ।