साताको पहिलो दिन आज सुनचाँदी बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार ९०० पुगेको छ ।
अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० मा कारोबार भएको सुनको मूल्य एकैदिन प्रतितोला दुई हजारले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ४०० तोकिएको छ । सोको मूल्य गत शुक्रवार प्रतितोला ९९ हजार ४०० रूपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रूपैयाँले बढेर एक हजार ४१५ पुगेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आज नेपालको बजारमूल्यमा प्रभाव परेको महासंघका अध्यक्ष मनिकरत्न शाक्यले बताए ।