सरकारले स्थानीय तह निर्वाचनका लागि करिब एक लाख १९ हजार म्यादी प्रहरी भर्ना गर्दै छ।
आगामी ३० वैशाखका लागि घोषित निर्वाचनका लागि तयार गरिएको ‘म्यादी प्रहरी भर्ना छनौट मापदण्ड–२०७८/२०७९’ को खाकामा म्यादी प्रहरीमा भर्ना हुन पाउन विभिन्न मापदण्ड तयार गरेको छ ।
मापदण्ड अनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको र शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने पनि भनिएको छ । यसरी नियुक्त भएका म्यादी प्रहरीले जनपथ प्रहरीसँग मिलेर काम गर्नुपर्ने छ ।
गृह मन्त्रालयले बनाएको निर्वाचन सुरक्षा कार्यविधि अनुसार मतपेटिकाको सुरक्षामा नेपाल प्रहरीको टोली खटिन्छ । त्यसपछिको घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिन्छन् । मतदानस्थलको बाहिरी सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनालाई खटाउने व्यवस्था छ ।
मापदण्डमा म्यादी प्रहरीले तोकिएको क्षेत्रमा इमान्दारीपूर्वक जिम्मेवारी पूरा गर्नुपर्ने भनिएको छ । कुनै पनि दल वा उम्मेवारको पक्षमा भोट माग्न, पक्ष वा विपक्षमा लाग्न नहुने भनिएको छ । कुनै दल वा दलका प्रतिनिधिको विरोध वा समर्थन गर्न पनि नपाइने व्यवस्था पनि मापदण्डमा राखिएको छ ।
निर्वाचन विरोधी कुनै गतिविधि हुने सूचना पाए आफ्नो कमाण्डरलाई तत्काल जानकारी गराउनुपर्ने, मतदानमा खटिने कर्मचारी, मतपेटिका र मतदान सामग्रीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने म्यादी प्रहरीको जिम्मेवारी हुनेछ ।
काम छाडेर वा अरुलाई जिम्मा लगाएर कतै जान वा भाग्न पनि रोक लगाइएको छ । बीचमा काम छाडेर हिँडे वा जिम्मेवारी पूरा नगरे सुविधा रोक्का हुने मापदण्डमा उल्लेख छ ।
कुनै म्यादी प्रहरीले जानाजान सरकारी सम्पत्तिको हानी नोक्सानी गरे उसैबाट असूल गरिने पनि उल्लेख गरिएको छ ।