Homeसमाचारस्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी, तलब भत्ता...

स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी, तलब भत्ता यस्तो

प्रहरी प्रधान कार्यालयले स्थानिय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो । निर्वाचन सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठूलो संख्यामा म्यादी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । उनीहरूका लागि तलबभत्तामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

डेढदेखि २ महिनासम्म भर्ना गरिने म्यादीलाई प्रहरी जवानसरह मासिक तलब, रासन, पोसाक र दैनिक खाजा खर्च उपलब्ध गराउने अभ्यास छ । दुई महिनाका लागि भर्ना गर्दा एक जना जवानको मासिक तलब करिब २३ हजार रुपैयाँका दरले साढे ४ अर्ब रुपैयाँ खर्च हुन्छ । रासन भत्ता जिल्लाअनुसार फरक हुनेछ । उपत्यकामा कार्यरत प्रहरीले रासनबापत प्रतिमहिना करिब ५ हजार ५ सय पाउँछन् । यो आँकडाअनुसार १ लाख म्यादी प्रहरीलाई २ महिनाको रासन भत्तामा ५५ करोडभन्दा बढी खर्च हुन्छ । एकसरो पोसाकबापतको भत्ता छुट्टै उपलब्ध गराउनुपर्छ ।

०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भए पनि यसपटक भने एकैचरणमा निर्वाचन हुनेछ । ०७४ सालको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको भर्ना लिइएको थियो ।

‘स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी आवश्यक पर्ने अनुमान गरेका छौं,’ डीआईजी रवीन्द्र धानुकले भने ।उनका अनुसार कार्यालयले एक लाखकै हाराहारीमा म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव अघि बढाउने तयारी समेत गरेको छ ।

केही दिनभित्रै प्रहरीले विस्तृत सुरक्षा कार्ययोजना गृह मन्त्रालयमा बुझाउने तयारी छ । त्यस्तै आज सुरक्षा समितिको बैठक बस्दै छ । आज बस्ने बैठकले निर्वाचनका लागि आवश्यक सुरक्षाका रणनीतिहरु तयार पार्ने डीआईजी धानुकले बताए ।

प्रहरी प्रधान कार्यालयले डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचन केन्द्रित सुरक्षा समिति गठन गरेको छ। समितिले आवश्यक कामहरू सुरु गरिसकेको उनले बताए ।

यही माघ १९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार रहन र सुरक्षा योजना पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो । निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन हुँदै आएका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read