प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई पक्राउ गरेको छ। भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी हस्पिटल र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारी नक्कली पीसीर रिपोर्टसहित पक्राउ परेका हुन्।
दुवै अस्पतालले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट स्वाबको नमूना समेत नलिइ नेपाल सरकारले तोकेभन्दा बढी रकम लिइ नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको पाइएको छ।
नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सूचनाको आधारमा मंगलबार बिहान १०: ३० बजेतिर नागरिक कम्युनिटी टिचिङबाट जारी भएको ८ थान नक्कली पीसीआर रिपोर्टसहित सो अस्पतालका कर्मचारी रोशन कुमार छिट्टानलाई एयरपोर्टबाट र अर्का कर्मचारी हस्पिटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, कान्तिपुर अस्पतालका कर्मचारीको परिचयपत्र भएका नगेन्द्र कुमार यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट १७ थान नक्कली पीसीआर रिपोर्टसहित अस्पताल अगाडिबाट नियन्त्रणमा लिएको हो। त्यस्तै सोही अस्पतालका ल्यावका कर्मचारी माधव मैनालीलाई पनि ४ थान नक्कली पीसीआर रिपोर्टसहित पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।