आज्काल नेपाली कलाकारहरुले अन्तर्राष्ट्रिय कला क्षेत्रमा धेरैले काम गर्ने मौका पाईरहेका छन। यहि सुचीमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक भएको छ।
मलयालम भाषाको यो फिल्मको ट्रेलर बिहीबार सार्वजनिक भएको हो। दुई मिनेट ४१ सेकेन्डको ट्रेलर ‘सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो फिल्म राजीव शेट्टीद्वारा निर्देशित हो भने निर्माण एसके लरेन्सले गरेका हुन्।
जेभियर एलेक्स र राजीव शेट्टीको लेखनमा बनेको फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन्। त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन्।
ट्रेलरमा नेपालका थुप्रै ठाउँका रमणिय दृश्यहरू देख्न सकिन्छ। जसमा काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ।
ट्रेलरमा स्वस्तिमा खड्काको ‘आइटम डान्स’ का केही झलकहरू पनि छन्। गीतमा स्वस्तिमा रातो पहिरनमा नाचिरहेकी देखिन्छिन्।
गीतमा बाहेक फिल्ममा स्वस्तिमाको भूमिका के हो भन्नेबारे ट्रेलरमा चाहिँ खुल्दैन। तर फिल्म रेट गर्ने आइएमडिबीले थिरिमालीका मुख्य कलाकारको नाम सूचीमा स्वस्तिमा खड्काको पनि नाम उल्लेख गरेको छ। त्यसैले आईटम डान्स बाहेक पनि स्वस्तिमाको केही अभिनय छ भन्ने आशा राख्न सकिन्छ।
ट्रेलरमा स्वस्तिमा संगै अभिनेता माओत्से गुरुङको एक झलक पनि देख्न सकिन्छ।
कमेडी जनराको यो फिल्म सन् २०२२ मा रिलिज हुने भनिएको छ। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुने पनि बताइएको छ।
यस्तो छ ट्रेलरः