Home समाचार बुधबारदेखि चार दिन देशभर बदली हुने, हिमपातको सम्भावना कुन क्षेत्रमा कस्तो छ?

बुधबारदेखि चार दिन देशभर बदली हुने, हिमपातको सम्भावना कुन क्षेत्रमा कस्तो छ?

केहि दिन अघि को बर्षा र हिमपात पछि केहि खुलेको मौसम फेरी पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबारदेखि आउँदो शनिबारसम्म देशभरको मौसम बदली भइ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले मंगलबार हिउँद यामको मौसमी अवस्था सम्बन्धी विशेष बुलेटिन जारी गरेर चार दिन बदली तथा वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।

विशेष बुलेटिनमा भनिएको छ, ‘आज मंगलबार रातिदेखि पश्चिमी नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने छ ।’

शनिबारसम्म यो प्रणाली देशभर फैलिएर विशेष गरी सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको विभागले जनाएको छ ।

‘बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ’, मौसमी बुलेटिनमा भनिएको छ ।

आउँदो आइतबारदेखि पश्चिमी न्यून चापीय मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read