पछिल्लो समय थुप्रै कलाकारहरु राजनीतिमा होमिएका छन्। भर्खरै सम्पन्न राप्रप्राको महाधिवेशनमा नायिका रेखा थापा पनि महामन्त्री पदमा उमेद्वार बनेकी थिइन् तर पराजित भईन।
यसै क्रममा चर्चित गायक विमलराज क्षेत्री राजनीतिमा होमिएका छन् । लामो समय लोकगायनको क्षेत्रमा क्रियाशील क्षेत्री १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दैछन् ।
पर्वतबाट खुल्ला महाधिवेशन प्रतिनिधिमा निर्वाचित क्षेत्रीले लोकसांस्कृतिक क्षेत्रको सम्मान र प्रतिनिधित्वका लागि आफू केन्द्रीय सदस्यको उम्मेदवार रहेको बताए ।
२०५० सालमा पर्वतको श्री शारदा माविबाट नेपाल विद्यार्थी संघको राजनीतिमा प्रवेश गरेका क्षेत्री नेपाल ट्रेड युनियन कांग्रेसको पूर्व केन्द्रीय सदस्य समेत हुन् । २०५६ सालबाट औपचारिक गायन यात्रा सुरु गरेका क्षेत्रीको बल्लै भो भेट, जापान टोकियो , सुपारी चाम्रो, बुट्टे रुमाल, मधुवनैमा, रानीघाटैमा, हिमाल सेतै छ, औठी कुसैकोलगायतका गीतहरु चर्चित छन् ।
उनले नेविसंघ, ट्रेड युनियन कांग्रेस र नेपाली कांग्रेस सम्बन्धी गीतहरु पनि गाएका छन् । सुन सुन साथी, वीपी सम्झेर , कांग्रेसको सिपाही लगायतका पार्टी गीतहरु क्षेत्रीले गाएका छन् । लोकतान्त्रिक पार्टीमा आवद्ध भएर कलाकर्मीले पनि राजनीतिक योगदान दिनुपर्ने क्षेत्रीको भनाई छ ।
‘म गायनमा आउनुअघि नै नेविसंघको राजनीतिमा सक्रिय थिएँ । लामो समय विभिन्न फोरममा बसेर लोकतन्त्र र कांग्रेसका लागि काम गरियो । अब केन्द्रीय समितिमै पुगेर काम गर्न चाहेको छु’, क्षेत्रीले भने ।
उनले कांग्रेसलाई सबै क्षेत्र र पेशामा आवद्ध नेपालीहरुको आकर्षणको केन्द्र बनाउन आवश्यक रहेकोले कलाकर्मीलाई पनि उपयुक्त भूमिका दिन जरुरी रहेको बताए । ‘हरेक राजनीतिक आन्दोलन होस वा कार्यक्रम कलाकर्मीले योगदान गरेकै छन् । अब आमसभामा मान्छे बटुल्न मात्रै होइन राजनीतिक नेतृत्वमा समेत कलाकारलाई भूमिका दिनुपर्छ’, क्षेत्रीले भने ।
क्षेत्री लोकतान्त्रिक लोकदोहोरी संघको संस्थापक अध्यक्षसमेत हुन् ।
यस्तो छ क्षेत्रीको राजनीतिक करिअर–
सचिव, नेविसंघ शारदा मावि पर्वत – २०५०
सचिव, नेविसंघ, पर्वत बहुमुखी क्याम्पस – २०५३
केन्द्रीय सदस्य, जयनेपाल सांस्कृतिक प्रतिष्ठान– २०५६
उपमहासचिव, नेपाल कलाकर्मी संघ– २०६८
केन्द्रीय सदस्य, नेपाल ट्रेड युनियन कांग्रेस – २०७०
संस्थापक सभापति, लोकतान्त्रिक लोकदोहोरी संघ– २०७४
नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि – २०७८