Home स्वास्थ्य कोरोनाको नयाँ रूप ओमिक्रोन नेपाल नआउँदै स्वास्थ्य मन्त्रालयले किन गरायो यस्तो सचेत...

कोरोनाको नयाँ रूप ओमिक्रोन नेपाल नआउँदै स्वास्थ्य मन्त्रालयले किन गरायो यस्तो सचेत ?

सरकारले अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको छ । बुधवार मन्त्रालयले कोरोना भाइरसको नयाँ रूपको ओमिक्रोनबाट बच्न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो ।

हालसम्म नेपालमा कोरानाको नयाँ रूप आइनसकेको भए पनि यसबाट बच्न अन्तर्राष्ट्रिय नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको र परीक्षणको दायरा बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । उनले सरकारले विदेश जाने/आउने कुराहरू, स्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका गतिविधिलाई कम गर्न अनुरोध गरेको पनि जानकारी दिए ।

सहप्रवक्ता अधिकारीले नेपालमा कोभिड–१९ का खोप अभियानहरू धेरै प्रभावकारी रहेको पाइएकाले खोप अभियानलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले यो भेरियन्ट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यो अवस्थालाई मध्यनजर गर्दै सरकारले विभिन्न नाका र स्थानमा निगरानी बढाएको बताए ।

सहप्रवक्ता अधिकारीले भने, ‘कोभिड–१९ संक्रमण गराउने भाइरस डिसेम्बरको अन्तिममा सफल भएसँगै यसले आफ्नो रूपहरू परिवर्तन गर्दै गएको छ । यस किसिमको भाइरसले आफ्नो रूप परिवर्तन गर्नसक्छ भन्ने कुराहरू विश्वव्यापी रूपमा सम्बन्धित चिकित्सा विज्ञानका विज्ञहरूलाई पहिलैदेखि थाहा भएको विषय हो । रूप परिवर्तन गर्ने क्रममा सामान्य परिवर्तन र जटिल किसिमका परिवर्तन २ वटामा कुन बढी परिवर्तन भएको हो भन्ने कुराले बढी महत्त्व राख्दछ । सामान्य परिवर्तन नियमित भइरहेको हुन्छ, त्यसले खासै प्रभाव पार्ने हुँदैन । अलि जटिल किसिमको परिवर्तन हुँदा त्यसको बनावटमा तलमाथि पर्छ र त्यसले संक्रमण हुने, लक्षण देखाउने, यावत कुराहरूमा फरक पार्न सक्ने हुन्छ । अहिले पछिल्लो समय नयाँ भेरियन्टको रूपमा रूप परिवर्तन गरेपछि त्यसलाई धेरैले रूप परिवर्तन भएको भनेर भन्ने गरेका छन् । त्यो परिवर्तित भेरियन्ट नयाँ रूपमा देखापरेको छ । त्यो भेरियन्ट यद्यपी नेपालमा आइसकेको छैन । त्यो भेरियन्ट नयाँ भेरियन्टहरू एक ठाउँबाट अर्को ठाउँमा बोकेर जाने हो । मानिस संक्रमित भएपछि अर्को ठाउँमा पुगेपछि अर्को व्यक्ति संक्रमित भएको आधारमा उहाँबाट फेरि अर्को व्यक्तिमा सरेर उहाँबाट फैलिने अवस्था हो । यो कुराहरूलाई मध्यनजर गरेर नेपाल सरकारले विदेश जाने/आउने कुराहरू, स्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका गतिविधिहरूलाई कम गर्न अनुरोध गरेको हो ।

संक्रमण रोकथाम नियन्त्रण गर्नलाई मानिसहरूको आवतजावतलाई व्यवस्थित गर्न, मानिसहरूको जनस्वास्थ्य मापदण्डका पालनाहरूको निरन्तरता राख्न, कोभिड–१९ को खोप अभियानलाई निरन्तरता राख्न आवश्यक हुन्छ । यही सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरेर अत्यावश्यक कामभन्दा बाहेक घरभन्दा बाहिर ननिस्किन, अत्यावश्यक बाहेक विदेश जाने आउने काम नगर्न, नगराउनु हुन अनुरोध गरेको अवस्था हो । त्यही माध्यमबाट संक्रमण आउने, जाने भएको हुनाले सरकारले अन्तर्राष्ट्रिय नाकाहरुमा निगरानीका कामहरु बढाएको छ । परीक्षणका कामहरुलाई बढाएको छ । सिक्वेन्सीका कामहरुलाई बढाएको छ । यसो गर्दा भेरियन्ट आइहाल्यो भने पनि चाँडै पत्ता लगाउन सजिलो हुन्छ । चाँडै पत्ता लाग्दा थप अरु सुरक्षा, सावधानी अपनाउन सहज हुन्छ । पुष्टि भएको भेरियन्टका सन्दर्भमा धेरै कुराहरू आएका छैनन् ।

जति तथ्य आएका छन्, त्यसकै आधारमा हामीले लिएको जनस्वास्थ्यका मापदण्डहरू, हामीले लगाइरहेका कोभिड–१९ का खोप अभियानहरू धेरै प्रभावकारी रहेको पाइएको छ । हामीले निरन्तर खोप अभियानलाई सफलतातिर लैजानुपर्छ । धेरैभन्दा धेरै व्यक्तिहरू खोप अभियानमा सरिक हुनुपर्छ ।

ता कि समाज, सबै आफन्त सुरक्षित हुन सकियोस् । यो अवस्था सिर्जना गर्नलाई सरकारले निगरानी बढाउने, जनस्वास्थ्यका मापदण्डहरूको पालना बढाउने, कोभिड–१९ को खोप अभियानलाई तीव्र गतिमा लिएर जाने कामहरू गरिरहेको छ ।’

सहप्रवक्ता अधिकारीले सबै व्यक्तिहरू कोरोना विरुद्धको खोप अभियानमा सहभागी बन्नुपर्ने भन्दै यसलाई तीव्र गतिमा लिएर जानुपर्ने बताए ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read