Homeसमाचार१७ वर्षपछि बुवा-आमाको किरिया

१७ वर्षपछि बुवा-आमाको किरिया

दैलेखका दुई जनाले आफ्ना बुवा-आमाको मृत्यु भएको १७ वर्षपछि किरिया गरेका छन्। महाबु गाउँपालिका–४ गीताचौरका दुई परिवारले १७ वर्षपछि किरिया गरेका हुन्।

उक्त गाउँका राजबहादुर सिंहकी आमा र दीपक रावलका बुवाको सशस्त्र द्वन्द्वको बेला २०६१ सालमा मृत्यु भएको थियो।

द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादीले काजकिरिया गर्न नदिएपछि उनीहरूले धार्मिक परम्परा अनुसार विधि पुर्‍याएर किरिया गर्न पाएका थिएनन्।

‘हामीले हाम्रो धार्मिक विधि पुर्‍याएर काजकिरिया गर्नुपर्छ, तर त्यसबेला माओवादीले यो वाइयात हो भन्दै हामीलाई त्यसमा रोके,’ रावलले भने, ‘त्यसबेला विधि पुर्‍याउन नपाए पनि अहिले ज्योतिषलाई हेराएर त्यो काम गरेका छौं।’

परिवारका सदस्यको मृत्यु भएपछि काजकिरिया गर्दा सेतो कपडा लगाउने, कपाल मुण्डन गर्ने, नुन, माछामासु बार्ने, पिपलपानी हाल्ने जस्ता विधि १७ वर्षपछि गरिएको उनले बताए।

२०६१ भदौ २५ गते सिंहकी आमाको मृत्यु भएको थियो। त्यसको एक हप्तापछि रावलका बुवाको मृत्यु भएको थियो।

‘मेरो आमाको मृत्यु भएकै दिन छिमेकीको घर माओवादीले कब्जा गरेका थिए, हामीलाई पनि किरिया गर्न दिइएन,’ सिंहले भने, ‘त्यसपछि तिथि जुटाउँदा समय लाग्यो, अहिले तिथि जुरेपछि विधि पुर्‍याएर किरिया गर्‍यौं।’

उनीहरूले बुवा-आमाको किरिया गत भदौ १७ गते गरेका हुन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read