बुद्ध एयरका दुइटा उडानमा प्राविधिक समस्या आएको छ। सोमबार बिहान पोखरा र विराटनगरका उडानमा प्राविधिक समस्या आए पनि कुनै अनिष्ट हुन नपाएको र मर्मतको काम सुरु भइसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
बिहान काठमाडौंबाट पोखरा जान लागेको उडानको इन्डिकेटरमा समस्या आएपछि त्यो जहाज ‘ग्राउन्डेड’ गरेर अर्को प्रयोग गरिएको थियो। ‘उडान गर्ने समयमा ककपिटमा धुवाँ आएको संकेत आएलगत्तै पाइलटले जानकारी दिएका थिए। यात्रु उतारेर अर्को जहाजमार्फत पोखरा पुर्याइएको थियो,’ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भने।
बिहान काठमाडौं-विराटनगर उडान गरेको ७०१ संख्याको उडान विराटनगरमा अवतरण हुन सकेन। पुनः काठमाडौं नै ल्याएर त्यसलाई अवतरण गराइएको थियो। ‘जहाजको ल्यान्डिङ गियरमा समस्या आएपछि विराटनगरमा ल्यान्ड हुन सकेको थिएन। अहिले यो जहाज नर्मल ल्यान्ड भइसकेको छ,’ विमानस्थलका एक कर्मचारीले भने।
विराटनगर उडान गरेको जहाजमा त्यहाँ पुगेपछि ल्याण्डिङ गियर डाउन भएको थिएन। विमानस्थलका प्रवक्ता शेर्पाले भने ‘जहाजको ल्याण्डिङ गियर नझरेका कारण यहाँ फर्काइएको हो। यता ल्याउँदा कन्फर्मेसन गराउनुपर्यो। यस्तो केसमा ओभरफ्लाइ गराइन्छ। आकाशमा दुई/चार एंगलबाट उडान गरेर ल्याण्डिङ गियर झरेको कन्फर्म भएपछि मात्र अवतरण गराइन्छ। नर्मल ल्याण्डिङ भइसकेको छ,’ उनले भने।
विराटनगर जान उडेर बिहान १०ः२१ बजे काठमाडौं नै अवतरण गर्नु परेको जहाजमा ७३ यात्रु र चालक दलका चार सदस्य थिए। उनीहरुलाई अर्को जहाजमा पुनः विराटनगर पठाउने व्यवस्था गरिएको जनाइएको छ।
कम्पनीको जहाज अवतरणका लागि विमानस्थलमा बिहान करिब डेढ घन्टा आन्तरिकतर्फको नियमित उडान बन्द गरिएको थियो। सर्वाधिक आन्तरिक उडान गरिरहेको बुद्धले मुलुकका बिभिन्न गन्तव्यसँगै पोखरालाई बेस बनाएर पनि उडान गरिरहेको छ। सोमबार दुई उडानमा आएका समस्याबारे प्राविधिकले जाँच थालेकाले यसबारे कम्पनीले छिटै प्रष्ट्याउने एक कर्मचारीले बताए।