HomeUncategorizedसंखुवासभा हत्या : जसको घरमा बसेर प्रहरीले अनुसन्धान गर्‍यो, उनै योजनाकार

संखुवासभा हत्या : जसको घरमा बसेर प्रहरीले अनुसन्धान गर्‍यो, उनै योजनाकार

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्या अनुसन्धानका लागि पुगेको प्रहरी टोली घटनास्थल नजिकै खड्गबहादुर कार्कीको घरमा बस्यो । एकसातासम्म उनको घरमा बसेर अनुसन्धान गरेको प्रहरीले तेजबहादुरका भतिज लोकबहादुरलाई पक्राउ गर्‍यो र २७ भदौमा पत्रकार सम्मेलन गरी उनले नै ६ जनाको हत्या गरेको बतायो ।

हत्या अनुसन्धानका लागि २३ भदौमा घटनास्थल पुगेका प्रदेश १ का डीआईजी अरुणकुमार बीसी २७ भदौ बेलुका मात्रै विराटनगर फर्किएका थिए ।

तर सोमबार घटनामा नयाँ ट्वीस्ट आयो । संखुवासभा प्रहरीले हत्यामा संलग्न थप चार जनालाई सार्वजनिक गर्‍यो । हत्याका योजनाकार खड्गबहादुर कार्की भएको बतायो । कार्की तिनै हुन्, जसको घरमा बसेर प्रहरीको टोलीले ६ जनाको हत्याबारे अनुसन्धान गरेको थियो ।

मृतक रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेशले लुकाएको भेटिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । त्यसक्रममा लोकबहादुर, उनका भाइ नरेश, बुबा रणबहादुरका साथै छिमेकी खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर मिलेर ६ जनाको हत्या गरेको प्रहरीको दाबी छ ।

डीआईजी बीसीका अनुसार खड्गबहादुरको परिवारलाई छिमेकीकहाँ पठाएर प्रहरी टोली उनको घरमा बसेको थियो । खड्गबहादुर र मृतक तेजबहादुर कार्कीको घर करिब २५० मिटरको दूरीमा छ । प्रहरीका अनुसार अनुसन्धानका लागि घर उपलब्ध गराउन आग्रह गर्दा उनले सहजै स्वीकार गरेका थिए ।

गाउँले र सञ्चारकर्मीको भिडभाडका कारण घटनाबारे राति मात्रै सोधपुछ हुन्थ्यो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार उनले घटनाबारे केही थाहा छैन भनेका थिए ।

बाहिरबाट मानिसहरु नआएको र चोरी गर्ने उद्देश्यका साथ घटना नघटाएको देखिएपछि प्रहरीले गाउँलेबाटै हत्या भएको आशंकामा अनुसन्धान गर्दा लोकबहादुर शंकाको घेरामा परेका थिए । तर खड्गबहादुर र अरु परेनन् ।

तर रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेशले लुकाएका भेटिएपछि अरु पनि अनुसन्धानमा तानिए । लोकबहादुरको बयानले पनि खड्गबहादुरसम्म पुग्न सहज भएको अनुसन्धानमा खटिएका अधिकृतहरु बताउँछन् ।

अनुसन्धानका लागि प्रहरीले खड्गबहादुरका दुई छोरा र श्रीमतीलाई पनि नियन्त्रणमा लिएको थियो । तर उनीहरुको संलग्नता नदेखिएको जनाएको छ ।

स्थानीय ९० वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीय पार्वती, उनका छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, तेजबहादुरका नाति वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको २१ भदौमा हत्या भएको थियो । खड्गबहादुरसहित ५ जनाले योजनाबद्ध रुपमा चिर्पट र छुरा प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले बताएको छ ।

अनलाईनखबरबाट साभार

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read