Home Uncategorized कक्षा ११ की ७८ वर्षीया विद्यार्थीको डाक्टर बन्ने धोको

कक्षा ११ की ७८ वर्षीया विद्यार्थीको डाक्टर बन्ने धोको

चार बीस वर्ष टेक्न दुई वर्ष मात्र कम हुँदा पनि रत्नकुमारी सुनुवारको दैनिकी युवा विद्यार्थीको भन्दा पटक्कै फरक छैन। बिहान ५ बजे उठेर नित्यकर्म सक्छिन्। पुस्तक हातमा लिएर कम्तीमा २-३ पाना पढ्नैपर्छ उनलाई। यो उनी आफैंले बनाएको ‘रुटिन’ हो। भन्छिन्, “पुस्तक हातमा लिएपछि एक किसिमको जोश आउँछ।”

समाजले गर्दै आएको बुढ्यौलीको पुरातन व्याख्या रत्नकुमारीलाई स्वीकार्य छैन। उनका लागि बुढ्यौली तब लाग्छ, जब कसैले आफ्नो इच्छा आफैंले पूरा गर्न सक्दैन। “उमेरले बूढी भए पनि पढ्ने रहरले ७८ वर्षमा एसईई दिएँ,” उनी सुनाउँछिन्, “स्वास्थ्यले साथ दिए खुरुखुरु उच्च शिक्षा पो सक्छु।”

रामेछापको चरीकोटमा जन्मिएकी रत्नकुमारीलाई बाल्यकालमा गाउँलेहरूले ‘कागको फुल चोर्नसक्ने केटी’ भन्दै जिस्क्याउँथे। उनी थिइन् पनि त्यस्तै। पढ्ने इच्छा हुँदाहुँदै ‘छोरीलाई पढाए पोइल जान्छन्’ भन्ने समाजले उनको पढ्ने भोकमा रोक लगायो। बरु २० वर्ष नलाग्दै रामेछाप हावागाउँका रनबहादुर सुनुवारसँग उनको विवाह भयो।

घाँसदाउरा र मेलापातमा बितिरहेको जीवन २०३६ सालपछि केही फेरियो । उनीहरू रामेछापबाट काठमाडौं, कोटेश्वरमा बसाइँ आए। तर, श्रीमान् नेपाली सेनामा भएकाले सँगै बस्न कहिल्यै पाएनन्। एक छोरी र ३ छोरा लालनपालनको एकल जिम्मेवारी रत्नकुमारीको रह्यो।

छोराछोरीलाई स्कूल पुर्‍याएपछि दिउँसो सिलाइबुनाइको कामबाट फुर्सद पाएका वेला उनी आफ्ना सन्तानले असरल्ल छरेका पुस्तकका अक्षर छाम्थिन्। “अक्षर छोएपछि यसले के भनेको होला भन्ने कौतूहल लाग्थ्यो। अक्षरले भनेको कुरा बुझेका दिन खूब नाच्नेछु भन्ने सोच्थें,” उनी सुनाउँछिन्।

समयक्रममा छोराछोरीले उच्च शिक्षा लिए भने श्रीमान् अवकाश पाएर घर फर्किए। अब रत्नकुमारीलाई लाग्यो, बल्ल मेरो पढ्ने पालो आयो । २०५७ सालमा ५६ वर्षको उमेर हुँदा उनले कोटेश्वर, महादेवस्थानमा प्रौढ शिक्षा तालीमबाट कखरा शुरू गरिन्।

साँवा अक्षर चिनेपछि एक पटक कोठामा एक्लै नाचेको उनी झलझली सम्झन्छिन्। भन्छिन्, “कख र अआ सिक्न हप्ता दिन पनि लागेन। धेरै पढेर फलामे ढोका फोर्ने रहर थियो। त्यसैले सक्दो मिहिनेत गरें।”

कोटेश्वरमा ६ महीना प्रौढ शिक्षा लिएर रत्नकुमारी अक्षर र अंक छुट्याउन, पत्रपत्रिका पढ्न र आफ्नो नामसम्म लेख्न सक्ने भइन्। तर, उनलाई यहीं रोकिनु थिएन। भन्छिन्, “प्रौढ शिक्षा तालीम त आयो, गयो। तर, १० पास गर्ने इच्छा थियो। त्यसैले विद्यालय भर्ना गर्नु अघि तयारी गर्न कोटेश्वरको सूर्य क्लबमा भर्ना भएँ।”

रत्नकुमारी ६ वर्षसम्म सूर्य क्लबको अध्ययन केन्द्र धाइन्। उनको मिहिनेत देखेर कति आफन्त र छरछिमेकी छक्क पर्थे भने कतिले ‘नमच्चिने पिङको सय झड्का’ भनेर दुर्वचन लगाउँथे। तीव्र इच्छाशक्तिका बीच रत्नकुमारीलाई आफ्नै घरव्यवहार र बुढ्यौलीले थिच्दै लगेको थियो। छोराछोरीको घरगृहस्थी र विदेश भ्रमणले उनलाई केही वर्ष विद्यालय जान रोक्यो। त्यही बीचमा उनलाई मधुमेह भयो र मुटुमा समस्या पनि देखापर्‍यो। तर, उनको पढाइमोह कत्ति पनि घटेन।

रोगले च्याप्दै लगे कक्षा १० पास गर्न नसकिएला भन्ने डरले उनी २०७४ सालमा उत्प्रेरणा महिला माध्यमिक विद्यालय तीनकुनेमा कक्षा ६ मा भर्ना भइन्। घुँडाको समस्या भएकाले दैनिक विद्यालय धाउन नसकेपछि घरमै स्वाध्ययन थालिन्। गत वर्ष सोही विद्यालयबाट एसईई दिइन्। “नाति सहन पनि १० कक्षामै थियो। उसले घरमै गणित र अंग्रेजी सिकायो,” रत्नकुमारी भन्छिन्।

शरीरमा लागेका अनेक रोग, बुढ्यौली र कम हुँदै गएको स्मरणशक्तिका बावजूद रत्नकुमारीको इच्छाशक्तिको जित भयो। उनले २०७८ मा एसईई २.६५ जीपीए ल्याएर उत्तीर्ण गरिन्। “त्यो रात म सुत्नै सकिनँ, मलाई अब केही चाहिंदैन, मेरो सपना, इच्छा, आकांक्षा सबै पूरा भए, अब म आनन्दले मर्दा हुन्छ भन्ने लाग्यो। इच्छा गर्‍यो भने त भगवान्‌ले पनि आशिष दिन्छन् कि क्या हो!” रत्नकुमारीले आँसु झारिन्।

अब रत्नकुमारीले अर्को अठोट लिएकी छन्, पढाइ नछाड्ने। स्वास्थ्यले साथ दिए डिग्री पनि सिध्याउने। उनले काठमाडौं बानेश्वर बहुमुखी क्याम्पसमा कक्षा ११ मा भर्ना गरिसकेकी छन्। यहाँ कक्षा ११ र १२ को पनि पढाइ हुन्छ।

कक्षा शुरू त भएको छैन, तर उनी घरमै पढ्न थालिसकेकी छन्। भन्छिन्, “समय छँदै छ, किन खेर फाल्नु? जति सक्छु, उति पढ्दै जान्छु।”

पढेर जागीर खाने उद्देश्य नभए पनि उनले धर्म, समाज, विज्ञान र नैतिकता सिकेकी छन् । हिजोआज उनलाई पुस्तक जतिको नजिकको साथी कोही लाग्दैन। भन्छिन्, “सबै मानिस रिसाए पनि पुस्तक कहिल्यै रिसाएन। कोही नबोले पनि किताब सधैंभरि बोल्दो रहेछ।”

हुन त, चार-पाँच पृष्ठ अध्ययन गरेपछि रत्नकुमारीका आँखा पोल्न थालेका छन् । तर, केही बेर आराम गर्ने र फेरि तिनै पुस्तकको सिरानी हालेर अध्ययन गर्न बस्छिन् उनी। उनको सफलता देखेर कक्षा ८ सम्म मात्र अध्ययन गरेका उनका श्रीमान् रनबहादुर मख्ख छन्। भन्छन्, “बुढेसकालमा आएर बुढियाले मलाई जिती। मैले पनि रहर भए जति पढोस् भन्देको छु।”

शुरूआती दिनहरूमा प्रौढ शिक्षा तालीम लिंदा श्रीमान्‌ले ‘पाकेको धानलाई किन पानी लगाउने’ भन्ने गरेको रत्नकुमारी आज पनि सम्झन्छिन्। ‘बुढेसकालमा घाम ताप्न छाडेर क्याको स्कूल जान्छ हो’ भनेर जिस्क्याउने छरछिमेकीलाई उनी एसईईको प्रमाणपत्र देखाएर जवाफ फर्काउँछिन्। एसईई गरेपछि थुप्रै संघसंस्थाबाट सम्मानित भएपछि उनको हौसला थपिएको छ।

कोटेश्वरको महादेवस्थान स्थित घरमा छोराबुहारी, नाति र श्रीमान्‌सँग बस्ने रत्नकुमारीको आधा कोठा पुस्तकले भरिएको छ। हिन्दू, किरात, इसाई सबै धर्मका पुस्तक उनको कोठामा छन्। “छोराबुहारी आफ्नै काममा हुन्छन्। बूढो सुतेको सुत्यै। नातिहरू आफ्नै संसारमा हुन्छन्। त्यही भएर मैले आफ्नै संसारमा पुस्तकलाई साथी बनाएकी छु,” मुसुक्क हाँस्दै रत्नकुमारीले मन खोलिन्।

पहिले रिस उनको सबैभन्दा ठूलो शत्रु थियो रे। तर, त्यो पनि अध्ययन संस्कारले कम गर्दै लगेको उनको आत्मसमीक्षा छ। अक्षर चिन्दा मात्र पनि सही र गलत छुट्याउन आफू सक्षम भएको बताउने रत्नकुमारीको अनुभव छ, “शिक्षाले जीवन परिवर्तन गर्छ। सिर्जनात्मक जीवन बचाउँछ। त्यसैले दुई हरफ भए पनि लेख्ने र पढ्ने गरौं।”

उमेरले प्रौढ भएका तर रहरले युवा नै रहेका वृद्धवृद्धालाई पनि सरकारले खोजी खोजी शिक्षा देओस् भन्ने उनको चाहना छ। भन्छिन्, “मैले त आफ्नै ढिपीले रहर पूरा गरें। अब मर्दा पनि सास अड्कंदैन होला, तर कति बूढाबूढीले पढ्ने चाहना हुँदा पनि पाएका छैनन्। तिनीहरूलाई दुई अक्षर लेखाइदेऊ, आशीर्वाद मिल्छ सरकार।”

उनको धोको त डाक्टर बन्ने छ, तर उमेरमा पढ्न नपाएकोमा पछुतो पनि लाग्छ। “उमेरमै पढ्न पाए त म त हाकिमै हुने कि डक्टरै बन्ने थिए,” रत्नकुमारी भन्छिन्, “त्यस्तो (डाक्टर) पढ्न पाए त खुशी हुने थिएँ।”

अझै पनि स्नातकाेत्तर गर्ने उनकाे इच्छा छ। रत्नकुमारीको इच्छाको सम्मान गर्दै बानेश्वर बहुमुखी क्याम्पसले कक्षा ११ देखि स्नातकोत्तर तहसम्म निःशुल्क अध्यापन गराउने व्यवस्था मिलाएको छ। “उहाँको लगावमा हौसला थप्न निःशुल्क शिक्षाको व्यवस्था मिलाएका हौं,” क्याम्पस प्रशासन प्रमुख तीर्थ अमगाईं भन्छन्।

सबैको सम्मान र मायाले पुलकित रत्नकुमारीका जीवनमा दुईवटा इच्छा छन्, पहिलो- स्वास्थ्यले साथ दिए स्नातकोत्तर सक्ने। दोस्रो- अन्तिम दिन पनि दुई हरफ पढेर र लेखेर बिदा हुने।

हिमाल खबरबाट साभार

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read