Homeसमाचारएमसीसीको विरोध गर्ने ६ जना पक्राउ

एमसीसीको विरोध गर्ने ६ जना पक्राउ

एमसीसीको विरोध गर्दै प्रदर्शन गर्ने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार मध्यान्ह विरोध प्रदर्शन गर्ने क्रममा हरि गजुरेलसहित ६ जना अमेरिकी राजदूतावास अघिबाट पक्राउ परेका हुन् ।

गृहमन्त्रालयले एमसीसीको विरोध र भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्नेलगायतका गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । त्यहीअनुसार सोमबार प्रहरी बिहानैदेखि सम्भावित प्रदर्शनस्थलमा अलर्ट बसेको छ ।

भारतीय र अमेरिकी राजदूतावास क्षेत्रमा जमघट र भेला हुन समेत नदिने गृहले निर्देशन दिएको छ । सोमबार पनि विद्यार्थीहरूले विभिन्न क्याम्पसहरूमा प्रदर्शन गर्ने योजना बनाएका छन् ।

मित्रराष्ट्रसँगको सम्बन्धमा आँच आउने गतिविधि बढेको भन्दै गृह मन्त्रालयले कारबाहीको चेतावनी दिएको छ। तीन दिनमै दुई विज्ञप्ति जारी गर्दै सरकारले प्रदर्शनका नाममा उच्छृंखल गतिविधि नगर्न सचेत गराएको हो ।

शुक्रबार जारी विज्ञप्तिमा मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्ष्य गरी प्रत्यक्ष र परोक्ष रूपमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिनेजस्ता गतिविधिको सूक्ष्म निगरानी गरिने उल्लेख थियो ।

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्ति एमसीसी सम्झौताका विषयमा भइरहेका आलोचनामा लक्षित थियो । आइतबार भने नेपाली आकाशमा अनुमतिबिना भारतीय हेलिकोप्टर उडाइएकोमा र तुइन घटनामा संलग्न एसएसबीका सुरक्षाकर्मीलाई कारबाही नभएको भन्दै भएका प्रदर्शन निरुत्साहित गर्न विज्ञप्ति जारी गरिएको हो ।

कान्तिपुरबाट साभार

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read