Home अर्थ सेयर बजारमा यसरी गिरावट आउनुको खास कारण के ?

सेयर बजारमा यसरी गिरावट आउनुको खास कारण के ?

सेयर बजारमा मंगलबार पनि गिरावट आएको छ । सबै समूहका सूचक तल झरेका छन् । नेप्से सूचक पनि ६९.०५ अंकले घटेको छ । १३ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । केन्द्रीय बैंकको १२ करोड सीमा प्रकरणले सेयर बजार झारेको हो । मौद्रिक नीति तथा एकीकृत निर्देशनमार्फत एक जना व्यक्तिले अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरिएको छ । साथै, नवीकरण गर्दा यो सीमाभित्र ल्याइसक्नुपर्ने गरी निर्देशन जारी गरिएको छ ।
नवीकरणमा गरिएको यस व्यवस्थाले बजारलाई बेस्सरी प्रभावित बनाएको हो । यसअघि १२ करोड रुपैयाँभन्दा निकै बढीमात्रामा सेयर धितो कर्जा लिएकाहरुले अब नवीकरण गर्दा तोकिएको सीमामा ल्याउनका लागि सेयर बिक्री गर्नुपर्ने बाध्यता छ । जसको प्रभावस्वरुपः बजारमा बिक्रीकर्ता हावी भएको विश्लेषकहरुको भनाई छ । तर बजारले करेक्सनको निश्चित चक्र पूरा गरेपछि फेरि फर्किने विश्लेषकहरु बताउँछन् ।
केन्द्रीय बैंकको नीतिका कारण विशेषगरी ठूला लगानीकर्ता प्रभावित भएका हुन् । साना तथा मझौला लगानीकर्तालाई भने केही फरक परेको छैन । तर अधिकांश साना लगानीकर्ताहरु ठूलाकै पछि लाग्ने गर्छन् । बढ्दा किन्ने अनि घट्दा बेच्ने प्रवृत्ति यस्ता लगानीकर्ताहरुमा हावी भएको पाइन्छ ।
१२ करोडबाहेक केही हदसम्म बजार नियमित र स्वभाविक करेक्सनमा पनि गएको हो । नेप्से ३२ सय विन्दुभन्दा माथि गएपछि कारोबारीले नाफा बुक गर्न थाले । भाउ उच्च्तम विन्दुमा पुगेका बेला नाफा बुक गर्नेहरु सक्रिय हुन्छन् । यसबाट बजार केही करेक्सन हुनु स्वभाविक हो ।
 बजारमा बेलाबेला यस्तो प्रवृत्तिहरु देखिइरहन्छ । घटबढ बजारको नियम हो । यसर्थ, लगानीकर्ताले योजनाबद्ध हिसाबले अघि बढ्न सक्नुपर्छ। किन्न सक्ने क्षमता, होल्ड गर्न सक्ने अवधि अनि कम्पनीको समग्र अवस्थाका बारेमा अध्ययन गर्नुपर्छ। आम लगानीकर्ताले आफैंले निर्णय गर्न सक्नुपर्छ । आफू कस्तो प्रकारको लगानीकर्ता बन्ने, कतिपय होल्ड गर्ने अनि लाभांश क्षमता बढी भएकामा जाने वा कारोबार प्रकृतिको सेयरमा बस्ने भन्नेमा निर्णय गर्न सक्नुपर्छ ।
यसर्थ, आम लगानीकर्ताले योजनाबद्ध हिसाबले अघि बढ्न सक्नुपर्छ । लगानी गरिएका कम्पनीको नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, पीई अनुपात लगायतका प्रमुख पक्षहरुमा ध्यान दिन आवश्यक छ । सकेसम्म अलिलामो समयसम्म होल्ड गर्ने हिसाबले लगानी गर्न सक्नुपर्छ । यसो गर्न सकिएमा दिनहुँ हुने उतारचढावबाट प्रताडित हुनुपर्दैन ।
२२७ कम्पनीको २ करोड ३१ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १ अर्ब रुपैयाँभन्दा बढीसहित अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र अपि पावर परेका छन् ।
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read