HomeUncategorizedयस्तो छ श्रीकृष्ण जन्माष्टमीको महत्त्व

यस्तो छ श्रीकृष्ण जन्माष्टमीको महत्त्व

हरेक वर्षको भाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथिमा श्रीकृष्णाष्टमी पर्व मनाइन्छ ।

द्वापरयुगको अन्त्यमाभाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथि, रोहिणी नक्षत्रको दिन पिता वासुदेव र माता देवकीको गर्भबाट भगवान् श्रीकृष्णको यस धराधाममा प्राकट्य भएको थियो ।

नन्दनन्दन भगवान् श्रीकृष्णलाई काले, श्यामसुन्दर, मख्खन चोर, कन्हैया, मुरलीमनोहर इत्यादि नामले पनि चिनिन्छ । यिनी बहुतै चञ्चल र बदमास स्वभावका थिए त्यति हुँदाहुँदै पनि सबैका प्रिय थिए । यिनको बाँसुरी सुनेर सबै प्राणीहरू मन्त्रमुग्ध हुन्थे । यिनमा एउटा विचित्र कला थियो । यिनको रूपको वर्णन श्रीमद्भागवतमहापुराणमा यसरी गरिएको छ ।
बर्हापीडं नटवरवपुः कर्णयोः कर्णिकारं
बिभ्र्रद् वासः कनककपिशं वैजयन्तीं च मालाम् ।
रन्ध्रान् वेणोरधरसुधया पूरयन् गोपवृन्दै
र्वृन्दारण्यं स्वपदरमणं प्राविशद् गीतकीर्तिः ।। श्रीमद्भागवतमहापुराणम्, १०/२१/५

अर्थात् शिरमा मयूरको प्वाँख, कानमा कर्णिकापुष्प, शरीरमा पीताम्बर, गलामा वैजयन्ती माला धारण गरेका, रङ्गमञ्चमा अभिनय गर्ने श्रेष्ठ नटको जस्तो सुन्दर वेष भएका, बाँसुरीको छिद्रलाई अधरामृतले भरिपूर्ण बनाउने,  गोप–गोपीले प्रशंसा गरिएका कृष्णले वैकुण्ठभन्दा पनि श्रेष्ठ वृन्दावनधामलाई आफ्ना चरणकमलको चिह्नले शोभित बनाए ।

भगवान् श्रीकृष्णको अवतारको पनि छुट्टै विशेषता रहेको छ । अन्याय अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले  भगवान् विष्णुले मानिसको रूपमा  श्रीकृष्णको रूप धारण गरी यस धर्तीमा अवतार लिएका हुन् ।

श्रीमद्भागवतमा वर्णन गरिए अनुसारपृथ्वीले थेक्नै नसक्ने गरी आसुरी प्रवृत्तिको हावी भएपछि पृथ्वीले गाईको रूप धारण गरी दुवै नेत्रबाट आँशु बगाउँदै ब्रह्माजी भएको ठाउँमा पुगिन् र अनुहार मलीन बनाएर थरथर काँप्दै आफ्ना सबै कहानी सुनाइन् ।

गौर्भूत्वाश्रुमुखी खिन्ना क्रन्दन्ती करुणं विभोः ।
उपस्थितान्तिके तस्मै व्यसनं स्वमवोचत ।। श्रीमद्भागवतमहापुराणम् । १०/१/१८

ब्रह्माजीले पनि बडो सहानुभूतिका साथ पृथ्वीको पीडा सुनिसकेपछि,  भगवान् शंकर, स्वर्गका प्रमुख देवताहरू, ब्रह्मा र गौरूपिणी पृथ्वी क्षीरसागरमा भगवान् विष्णुका समीपमा पुगे । भगवान् विष्णुलाई ‘पुरुषसूक्त’ मन्त्रले स्तुति गरे । स्तुति गर्दागर्दै ब्रह्माजी समाधिस्थ भए । समाधिस्थ अवस्थामा नै ब्रह्माजीले आकाशवाणी सुने । ब्रह्माजीले त्यहाँ उपस्थित भएका सबैका अगाडि आकाशवाणीमा सुनिएको कुरा सुनाए । ब्रह्माजीले भने हे देवताहरू हो ! ​

भगवान्लाई पृथ्वीको कष्टको बारेमा पहिले नै ज्ञान थियो । उहाँ ईश्वरको पनि ईश्वर हुनुहुन्छ । अब भगवान्ले पृथ्वीको भार हरणका लागि पृथ्वीमा अवतरण गर्दै हुनुहुन्छ । त्यस समयमा तिमीहरू पनि यदुकुलमा जन्म लिनू । भगवान्को जन्म वसुदेवको घरमा हुनेछ । त्यहाँ उनको सेवा र उनकी प्रिया श्रीराधाको सेवाका लागि तिमीहरू पनि यदुकुलमा जन्म लिनू ।

वसुदेवगृहे साक्षात् भगवन् पुरुषः परः ।
जनिष्यते तत्प्रियार्थं सम्भवन्तु सुरस्त्रियः ।। श्रीमद्भागवतमहापुराणम् । १०/१/२३ ।

स्वयं प्रकाश भगवान् शेष पनि भगवान्को कला हुनाको कारण भगवान्को कार्यमा सहयोग गर्नका लागि दाजुको रूपमा अवतार लिनुहुनेछ । त्यसैगरी भगवान्को ऐश्वर्यशालिनी योगमायाको पनि भगवान्को लीला साकार पार्नको लागि त्यसै समयमा जन्म हुनेछ ।

विष्णोर्माया भगवती यया सम्मोहितं जगत् ।
आदिष्टा प्रभुणांशेन कार्यार्थे सम्भविष्यति ।। श्रीमद्भागवतमहापुराणम् ।१०/१/२५

भगवान्ले अर्जुनलाई गीतामा उपदेश दिने क्रममा पनि भन्नुभएको छ ः– जब जब संसारमा धर्मको नाश हुँदै गएर अधर्मको बाहुल्य हुन्छ, तब म दुर्जनहरूको नाश र साधुहरूको रक्षाका लागि यस धर्तीमा अवतार लिनेछु ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय संभवामि युगे युगे ।। श्रीमद्भगवद्गीता ४/७–८ ।

सानैदेखि अद्भूत चरित्र भएका भगवान् श्रीकृष्ण महाभारत युद्धमा पाण्डवपक्षलाई समर्थन गर्दै अर्जुनको सारथीको रूपमा रहेका थिए । कौरवहको सैन्य शक्ति र सबै आफन्त भएको देखी अर्जुनले युद्ध नगर्ने अवस्थामा पुगेको बेलामा श्रीकृष्णले अर्जुनको मनोबल बढाउने काम गरेका थिए । त्यतिबेलै अर्जुनलाई दिएको उपदेश श्रीमद्भगवद्गीताको रूपमा प्रसिद्ध छ । उनले सानैमा पुतना, पापको पर्याय भएका कंस, जरासन्ध, शिशुपाल जस्ता दानवी प्रवृत्तिका संहार गरेका थिए । श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण महिनाभरि नै ५६ भोग लगाई झुला महोत्सव गर्ने प्रचलन अद्यापि प्रसिद्ध छ ।

अतः यिनै लीला पुरुषको उपवास बसी पूजा गर्नाले मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको छ । सोही अनुरूप श्रीकृष्णाष्टमीका दिन श्रीकृष्णको मन्दिरमा भक्त भागवतहरूको भीड लाग्ने गर्दछ । मलाई लाग्छ ‘श्रीमद्भगवद्गीताको दर्शनलाई बुझ्न सके मात्र भगवान् श्रीकृष्णको सच्चा पूजा भएको ठहरिने छ ।’ अतः गीताको दर्शनलाई आत्मसात् गरी भगवान् श्यामसुन्दर, मुरलीमनोहर, नन्दनन्दन श्रीकृष्णको चरित्र गाउँदै जीवनलाई आनन्दसागरमा निमग्न गराऔँ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read