Home समाचार किन भासिरहन्छ पोखरा ?

किन भासिरहन्छ पोखरा ?

भीषण वर्षापछिको भेलबाढीले खोतल्दा आइतबार राति पोखराको महेन्द्रपुलस्थित सडकमा बडेमानको भ्वाङ पर्‍यो । भेलका कारण सडकमात्र नभई फुटपाथसमेत भासिएको छ ।

सडक र फुटपाथ भासिएपछि आसपासमा घर भएका चिन्तित बनेका छन् । महेन्द्रपुल पोखराको कहलिएको व्यापारिक क्षेत्र हो । त्यहाँ वित्तीय संस्थादेखि विभिन्न निजी कार्यालय र प्रतिष्ठानहरू छन् ।

पोखरामा यसरी जमिन भासिने घटना यो नै पहिलो भने होइन । पोखरामा वर्षैपिच्छे कतै न कतै जमिन भासिएकै हुन्छ ।

कहिले नदीपुरमा त कहिले न्युरोडमा र कहिले महेन्द्रपुल क्षेत्रमा । ठूलो पानी पर्दा सडकमा बग्ने भेल खोलाझैं लाग्छ । भेलकै कारण बर्सेनिजसो सडक भासिएपछि आवागमनमा अवरोध हुने मात्र नभई स्थानीयमा त्राससमेत उत्पन्न गराइदिन्छ ।

सडक किनारमा भ्वाङ परेपछि नजिकैका घरसमेत जोखिममा पर्न सक्ने विज्ञहरूको भनाइ छ । यस विषयमा आजको नागरिक दैनिकले रिपोर्ट प्रकाशित गरेको छ ।

पोखरामा आइतबार साँझ ७ बजेदेखि सोमबार बिहान ९ बजेसम्म करिब १४ घन्टा अवधिमा २ सय ६० मिलिमिटर वर्षा भएको थियो ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसम सहायक सरोज अधिकारीका अनुसार बेलुकी ७ बजेदेखि भीषण वर्षा सुरु भएको थियो । रातभर वर्षा हुँदा पोखरा सहरभरि नै भेलबाढी आएको उनको भनाइ छ ।

उनका अनुसार यसपालि मनसुनको छोटो अन्तरालमा भएको वर्षा यही नै सबैभन्दा बढी हो । यसअघि असार २३ गते नौ घन्टामा २५८ मिलिमिटर वर्षा भएको थियो ।

मंगलबारसम्म भीषण वर्षाको सम्भावना रहेकाले थप जोखिम निम्तिन सक्ने उनले बताए ।

पोखराको महेन्द्रपुल क्षेत्रमा अघिल्ला वर्षमा समेत बेलाबेला जमिन भ्वाङ पर्ने गथ्र्याे । यसपटक क्षति बढी भएको पोखरा महानगरपालिकाका प्राविधिकहरू बताउँछन् ।

पोखरा महानगरपालिकाका सबइन्जिनियर नेत्र तिमिल्सेनाका अनुसार वर्षा बढी हुँदा आइतबार राति ९ बजेतिर त्यहाँ भ्वाङ पर्न थालेको थियो ।

रातभरको भीषण वर्षापछिको भेलले खोतल्दै जाँदा भ्वाङले झनै ठूलो आकार लिएको तिमिल्सेनाले बताए । ‘बेलुकी भ्वाङ परेको जानकारी पाएपछि मध्यरातसम्म हामी त्यहीं रहेर केही प्रयास गरेका हौं । भेल पनि तर्काएका थियौं । बिहानपख त झनै बढी क्षति भएछ,’ उनले भने ।

उनका अनुसार खानेपानी विस्तारका क्रममा पाइप बिच्छ्याउँदा त्यो क्षेत्रमा खनिएको थियो । खाडलको १० मिटर दूरी ढलान हुन बाँकी थियो ।

दोहोरो पार्किङ रहेकाले ढलान हुन सकिरहेको थिएन । तल र माथि ढलान भए पनि १० मिटर जति बाँकी रहेकोमा त्यही ठाउँमा भेलले खोतल्दा भ्वाङ परेको तिमिल्सेनाले बताए । पोखरामा अहिले खानेपानी पाइप बिछ्याउने काम भइरहेको छ । पोखराभित्र सय किलोमिटर दूरीको खानेपानी पाइप बिच्छ्याउने योजनअनुरूप महेन्द्रपुल क्षेत्रमा पनि काम भइरहेको हो ।

‘पार्किङको दोहोरो समस्या भएकाले त्यही क्षेत्र ढलान हुन बाँकी थियो। त्यसैमा खोतल्दा खाडल पर्न गयो,’ तिमिल्सेनाले भने । कमजोर ठाउँ फेला पारेपछि भेलले भित्रभित्र खोक्रो बनाएको पाइएको उनले बताए ।

सडकमा खाडल परेसँगै नजिकैका घरको पेटी पनि भासिएको छ । उनका अनुसार त्यहाँको माटो कमजोर छ । जहाँँ नदीपुरदेखि सोहोरिएर आएको भेलबाढी मिसिन्छ ।

भीषण वर्षा हुँदा पालिखेचोक क्षेत्रमा त सडक वारपार गर्न पनि सकस हुन्छ । त्यही भेलले खोतल्दा क्षति भएको उनले बताए ।

उनका अनुसार त्यहाँ रहेको नालीबाट पानी निस्किएर बाटोमा बग्ने भएकाले पनि क्षति हुने गरेको छ । ‘खाडलको समस्या समाधान गर्न महानगर, खानेपानी संस्थान, सडक विभागलगायत निकायको सहकार्य भइरहेको छ । अहिले अस्थायी रूपमा त्यहाँ काम गरे पनि दीर्घकालीन समस्या समाधान गर्न भित्रसम्म खोतलेर हेर्नुपर्ने हुन्छ,’ तिमिल्सेनाले भने ।

भूगर्वविद् पनि छोटो समयमा आएको भीषण वर्षापछिको भेलले खोतल्दा महेन्द्रपुल क्षेत्रमा खाडल पर्ने गरेको बताउँछन् । भूगर्भविद् श्रीकमल द्विवेदी भन्छन्, ‘यसै त पोखरामा बढी पानी परेको छ । पानीको भेलको निकास सही नहुँदा भित्रभित्र पसेर खोतल्दा खाडल पर्ने गरेको छ ।’

कमजोर भूबनोट भएका कारण भेलबाढीले सजिलै सडक खोतल्ने गरेको उनको भनाइ छ । पोखराको महेन्द्रपुल मात्र नभई आसपासको क्षेत्र बर्सेनिजसो भासिने गरेको उनले सुनाए । केही वर्षअघि पोखराको माथिल्लो क्षेत्र अर्मलाको खेत भासिँदा निकै क्षति पुगेको थियो ।

‘व्यवस्थित तरिकाले ढलको निकास गरिएको भए यो अवस्था नआउन सक्थ्यो । पोखरामा जमिनको संरचना कमजोर छ । पानीको निकासले खोतल्दै जाँदा सुरुङ बनेको छ,’ उनले भने, ‘पानीको ढलको व्यवस्थापन उचित नभएकै हो । ढलबाट बग्नुपर्ने पानी सडकमै बगेपछि कमजोर ठाउँ पाउनासाथ खोतल्न थाल्छ ।’

उनका अनुसार पोखराको चुनयुक्त भित्री भूगोललाई भेलको पानीले कमजोर बनाउँछ र प्वाल पर्दै जान्छ । ढलको पानीले चुनलाई खियाउँछ ।

त्यसले गर्दा भित्री भाग भ्वाङ पर्ने जोखिम हुन्छ । ‘सडकसँगै ती आसपासका घरको अवस्थाबारे पनि अध्ययन गर्नुपर्छ । सुरुङमाथि नै घर पनि छन् । तर, माथिको संरचना कमजोर भए जोखिम हुन सक्छ,’ उनले भने ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read