Homeजानकारीके तपाईंको वाई-फाई राम्रोसँग चलेन ? यस्ता छन् समाधानका ११ उपाय

के तपाईंको वाई-फाई राम्रोसँग चलेन ? यस्ता छन् समाधानका ११ उपाय

 केही समयका लागि घरमै बसेर काम गर्दै हुनुहुन्छ, अथवा अनलाइन क्लास भइरहेको छ । तर इन्टरनेट स्पिडमा समस्या देखिँदा हैरान हुनुहुन्छ भने तपाईंले आफ्नो वाई-फाईलाई अपग्रेड गर्न सक्नुहुन्छ । आज हामी तपाईंलाई आफ्नो वाई-फाईमा देखिने समस्या हटाउने केही उपायहरुको बारेमा बताउँदै छौं ।

१. राउटरलाई यथास्थानबाट सार्नुहोस्

राउटरलाई राखेको स्थान परिवर्तन गर्दा इन्टरनेट स्पीडमा धेरै सुधार आउनसक्छ । दराज, बुकसेफ, वाल अथवा कपबोर्ड माथि राउटर राख्नु भएको छ भने तपाईंको इन्टरनेट स्पिड धेरै स्लो हुनसक्छ । तपाईंले आफ्नो घरको राउटर झट्ट नदेखिने गरी लुकाएर राख्नुभएको छ भने, इन्टरनेट स्पीड धिमा हुनसक्छ । तसर्थ सकेसम्म राउटरलाई घरको केन्द्र अर्थात बीच भागमा राख्नुहोस् ।

राउटर जडान गर्दा रचनात्मक हिसाबले राख्नुपर्ने हुन्छ । राउटर राखिएको स्थान आफू नजिक हुन त्यति जरुरी छैन । बरु त्यसको साटो सबै उपकरणमा सजिलै कनेक्ट गराउन सकिने स्थानमा हुँदा राम्रो हुन्छ । त्यसैले सम्भव भएसम्म उपयुक्त तथा अग्लो स्थानमा राख्नुहोस् । जसले गर्दा तपाईंको राउटरले राम्ररी काम गर्न सक्दछ ।

२. इथरनेट केबलको प्रयोग गर्नुहोस् 

अझैपनि हामीले तारको प्रयोग गरेर इन्टरनेट चलाउन सक्छौँ । तार जडित कनेक्सन बिनातारको कनेक्सनभन्दा राम्रो हुन्छ । यसो गर्दा अरु डिभाइसको गतिविधिले असर पनि पार्न सक्दैन । निश्चित स्थानभन्दा वर/पर रहेर चलाउन नसकिने हुँदा यो विधि त्यति सुविधाजनक भने नहुन सक्छ ।

३. च्यानल अथवा ब्याण्ड परिवर्तन गर्नुहोस् 

वाई-फाई सिग्नल विभिन्न च्यानलहरूमा विभाजित भएको हुन्छ । राउटरका त्यस्ता च्यानलमा रहेको वाई-फाई सिग्नलले नै विभिन्न उपकरणमा सञ्चार गर्छ ।

नजिकैको कुनै घरमा तपाईंको जस्तै समान वाई-फाई च्यानल प्रयोग भइरहेको अवस्थामा इन्टरनेट स्पिडमा समस्या आउने गर्छ । यस्तो समस्या समाधानका लागि राउटरमा भिन्दाभिन्दै अर्थात छिमेकीको वाई-फाई राउटर चलिरहेको भन्दा फरक च्यानलमा सेटअप गर्नुपर्ने हुन्छ ।

हरेक च्यानलले फरक हिसाबले सिग्नल ह्यान्डल गर्ने गर्दछन् । जसको बारेमा थाहा पाउन राउटरसँगै आउने कागजात अथवा अनलाइनमा इन्स्ट्रक्सन जाँच गर्न सक्नुहुन्छ ।

तर त्यसको लागि तपाईंले डिभाइस सेटिङमा अप्सन पत्ता लगाउनुपर्ने हुन्छ । त्यसका लागि १,६ अथवा ११ च्यानलहरूमा एकपटक प्रयास गरेर हेर्नुहोस् ।

अहिलेका नयाँ राउटरहरूमा डुअल ब्यान्ड प्रविधि प्रयोग भएको हुन्छ । जसमा  २.५ गिगाहर्ज र ५ गिगाहर्ज को फ्रिक्वेन्सिमा सिग्नल प्रसारण हुन्छ । राउटरमा मिलेसम्म प्राथमिकता अनुसार फ्रिक्वेन्सी सेटअप गर्नुहोस् ।

५ गिगाहर्जको फ्रिक्वेन्सीमा इन्टरनेट कनेक्सन सबैभन्दा छिटो हुन्छ । तर यसको कभरेज भने छोटो दुरीसम्म मात्रै रहेको हुन्छ । तर २.४ गिगाहर्जको फ्रिक्वेन्सीमा ५ गिगाहर्जको तुलनामा ठीक उल्टो अर्थात कभरेज फराकिलो तथा स्पिड कम पाइन्छ ।

४.  राउटर अपग्रेड गर्नुहोस् 

मूल्य र सुविधा अनुसार राउटरको कार्य क्षमता पनि फरक हुनसक्छ । सामान्यतया राउटर अपग्रेड गरी कनेक्सन प्रसारणको सीमा बढाउन सकिन्छ ।

तपाईंसँग २.४ गिगाहर्जको सिङ्गल ब्यान्ड राउटर छ भने सकेसम्म डुअल ब्यान्ड राउटर लिन सक्नुहुन्छ । घर ठूलो छ अर्थात तपाईंलाई वाई-फाईको फराकिलो कभरेज चाहिएको छ भने दुई वा तीन ‘रिपिटर’ सपोर्ट गर्ने राउटर लिनुहोस् । तर सानो घर अथवा अपार्टमेन्टको लागि भने सामान्य किसिमको राउटर नै पर्याप्त हुनसक्छ ।

५. वाइफाई एक्स्टेन्डर प्रयोग गर्नुहोस्  

यदि राउटरको सेटिङ मिलाउन झन्झटिलो लाग्छ र तपाईंसँग केही पैसा छ भने वाई-फाई एक्स्टेन्डर वा रिपिटर खरिद गर्नुहोस् । त्यसलाई स्पेयर वाल सकेटमा प्लग इन गरी वायेरलेस रुपमा कनेक्ट गराउनुहोस् र त्यसैगरी आवश्यकता अनुसार थप विस्तार गर्नुहोस् ।

यो प्रयोग एकदमै सजिलो र सरल हुन्छ । तर यसरी विस्तार भएको कनेक्सन सिधा राउटरबाट प्रसारित भए जस्तो बलियो भने नहुन सक्छ । इन्टरनेट स्पिडका लागि राउटरको अवस्थिति यहाँनिर पनि निर्भर हुने गर्दछ ।

६. विद्युतीय तारको प्रयोग गर्नुहोस् 

एक्स्टेन्डरको एउटा विकल्पको रुपमा पावरलाइन किटलाई पनि लिन सकिन्छ । डिजिटल सिग्नलहरू विद्युतीय वायरिङबाट पास हुनसक्छन् र यसको फाइदा उठाउनकै लागि पावरलाइन डिभाइसहरु डिजाइन गरिएका हुन्छन् ।

नेटगियर, टीपी-लिङ्क लगायतका उत्पादनकर्ताहरुले यस्ता पावरलाइन किट बनाउने गर्दछन् । यसले कसरी काम गर्छ भनेः तपाईंले राउटरमा एउटा पावरलाइन प्लग जोड्नुपर्ने हुन्छ र त्यसपछि प्लगलाई वाल सकेटमा जोडनुपर्ने हुन्छ ।

अर्को पावरलाइन प्लग घरको अन्य कुनै कुनै कोठामा जड्नुहुन्छ । यसले उक्त कोठामा तारयुक्त अथवा ताररहीत दुवै किसिमको कनेक्सन तयार पार्दछ । यसो गर्दा स्पिडमा केहि फरक पर्नसक्छ, तर यो एउटा प्रभावकारी विकल्प हो ।

७.पासवर्ड राख्नुहोस् 

वाई-फाईमा पासवर्ड राख्नेकुरा भनिरहनु त पर्दैन । तर, खञ्चुवा छिमेकीका साथै ह्याकरहरूबाट सुरक्षित रहनका लागि वाई-फाईमा पनि बलियो पासवर्ड राख्नु जरुरी हुन्छ । त्यस्तै एएसई इन्क्रिप्सन राख्न पनि नभुल्नुहोस् । जसले तपाईंलाई उच्चतम सुरक्षाका साथै इन्टरनेट स्पिडमा असर पर्न पनि दिँदैन ।

८.प्रयोगविहीन उपकरण डिसकनेक्ट गर्नुहोस्  

अनावश्यक अथवा प्रयोग बिहीन दर्जनौं उपकरणहरू राउटरमा कनेक्ट भइरहँदा पनि स्पिडमा समस्या आउन सक्छ । इथरनेटको माध्यमबाट जोडिएका अनावश्यक डिभाइसहरू पनि डिसकनेक्ट गर्नुहोस् ।

कनेक्सन आवश्यक भएका उपकरणमा मात्र इन्टरनेट जोड्नुहोस् । यद्यपि राम्रा तथा गुणस्तरीय राउटरहरूले विशेष उपकरणलाई स्वतः प्राथमिकतामा राख्ने समेत गर्दछन् । जसले गर्दा कसैले फेसबुकमा लाइभ स्टिमिङ गर्दैछ भने तपाईंको भिडिओ गेममा असर पर्दैन ।

९. आफ्नो कम्प्युटर जाँच्नुहोस् 

यो सुझाव विशेषगरी कम्प्युटरसँग सम्बन्धित छ । तपाईंको कम्प्युटर तथा ल्यापटपमा इन्टरनेट स्पिडको समस्या देखिएको छ, तर अन्य डिभाइसमा ठीकठाक चलिरहेको छ भने, कम्प्युटर अथवा ल्यापटपको ‘टास्क म्यानेजर’ वा ‘एक्टिभिटी मनिटर’ खोलेर कुनकुन प्रोग्रामहरू चलिरहेका छन्, चेकजाँच गर्नुहोस् ।

केही प्रोग्रामहरू स्वतः अपडेट हुनेगरी सेटअप भएका हुनसक्छन् । जसको कारण तपाईंको इन्टरनेट कनेक्सन स्लो हुन्छ । त्यसैले सेटिङ चेकजाँच गरी मिलाउनुहोस् ।

१०. राउटर री-स्टार्ट गर्नुहोस्

वेबसाइटमा यो सुझाव हामीले धेरै देख्न सक्छौँ । तर यो अनावश्यक जस्तो लाग्छ । राउटरलाई नियमित रुपमा रि-स्टार्ट गर्ने उपाय डिजिटल युगमा अस्वाभाविक पनि लाग्न सक्छ ।

तर राउटर रि-स्टार्ट गर्दा धेरैजसो समय इन्टरनेट स्पिडमा देखिने समस्या समाधान हुन सक्दछ । तपाईंले २.५ गिगाहर्जको फ्रिक्वेन्सीमा राउटर चलाइरहनु भएको छ र स्पिडमा समस्या आइरहेको छ भने रिबूट गर्दा स्पिडमा सुधार हुनसक्छ ।

तर ५ गिगाहर्ज फ्रिक्वेन्सीमा छ भने तपाईंको इन्टरनेट स्पिड स्वतः बढेर जान्छ । तसर्थ तपाईंले स्पिडको चिन्ता नै लिनुपर्दैन ।

११. इन्टरनेट सेवा प्रदायकसँग सम्पर्क गर्नुहोस् 

माथि उल्लेखित सबै उपायहरू अपनाउँदा समेत इन्टरनेटको समस्याबाट छुट्कारा पाउनु भएन भने, आफ्नो इन्टरनेट सेवाप्रदायक कम्पनीलाई सम्पर्क गर्नुहोस् । जसले तपाईंको इन्टरनेट स्पिडमा कस्तो समस्या हो र कसरी समाधान हुन सक्छ भनेर आवश्यक सुझाव तथा समाधान दिन सक्छन् ।

साभार : टेकपाना

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read