Home समाचार चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार गत साउन १२ गते राति बराहक्षेत्र ३ बस्ने ३० वर्षीया रोमन राजधामीले सामान्य विवादका क्रममा श्रीमतीलाई एसिड प्रहार गरेका थिए । एसपी थापाका अनुसार एसिड प्रहारपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर बराहक्षेत्रको टोलीले महानगरीय प्रहरी वृत्त काठमाडौँबाट साउन १५ गते पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानपछि उनलाई सोमबार मात्रै प्रहरीले सार्वजनिक गरेको हो ।

राजधामीले आफ्नै २८ वर्षीया श्रीमती सरस्वती बस्नेतसँग चुरोटको विषयमा विवाद गरेका थिए । मादक पदार्थ सेवनले लठ्ठ भएका उनले श्रीमतीलाई पसलबाट चुरोट ल्याइदिन भनेको र नल्याइदिएपछि उक्त घटना हुन पुगेको एसपी थापाले बताए । थापाका अनुसार विवादकै क्रममा राजधामीले श्रीमतीमाथि एसिड प्रहार गर्न खोजेका थिए । तर, श्रीमतीले ज्यान जोगाएर घरबाट भागेर छिमेकी श्यामकुमारी धामीको घरमा पुगेकी थिइन् । राजधामीले एसिडको बोतल बोकेर श्रीमतीलाई प्रहार गर्नका लागि लखेटेका थिए ।

छिमेकी ४३ वर्षीया श्यामकुमारीले सम्झाउने प्रयास गर्दागर्दै उनीमाथि नै राजधामीले एसिड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एसिड प्रहारबाट श्यामकुमारीको टाउको तथा अनुहारको भागमा चोट लागेर गम्भीर घाइते भएकी छन् । घाइतेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको भएपनि उपचार हुन नसकेपछि विराटनगरको म्याक्स हस्पिटलमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचाररत श्यामकुमारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै, एसिड प्रहारपछि छुट्याउने क्रममा छिमेकीहरू २१ वर्षीय सुनम र १९ वर्षीय सुजन राजधामीमाथि पनि एसिडको छिटा लागेर घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

श्रावण १५ गते पक्राउ परेका उनलाई सोही दिन सुनसरीमा ल्याई जिल्ला अदालतबाट एसिड आक्रमण (कुटपिट वा अंगभंग सम्बन्धी कसुर) मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

फरार राजधामीले आफ्नै घरमा पितलबाट बनाइने त्रिशुल, बाला लगायतका सामग्री निर्माण गर्दै आएका थिए । निर्माण सामग्रीका लागि एसिड आवश्यक हुँदा उनकै घरमा एसिड उपलब्ध थियो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read