Homeसमाचारओलीलाई संकेत गर्दै नेपालले भने- फर्किएर प्रधानमन्त्री हुन्छु कि भनेर जालझेल नहोस्

ओलीलाई संकेत गर्दै नेपालले भने- फर्किएर प्रधानमन्त्री हुन्छु कि भनेर जालझेल नहोस्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै संविधानमाथि जालझेल नगर्न भनेका छन् ।

शनिवार काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘फेरि फर्केर प्रधानमन्त्री हुन्छु कि भनेर कसैले जालझेल नगरोस् । सबै काम पारदर्शी रुपमा हुनुपर्छ ।’घमण्डले मान्छेलाई सिध्याउने उदाहरण दिँदै नेपालले राम्रो अनुभवबाट सिक्नुपर्ने बताए ।

संसद् विघटनलाई जोगाएर संविधान रक्षा गरिएको पनि उनले बताएका थिए ।  ‘संसद् पुनःस्थापना भएको छ । अब कसैले संसद विघटन गर्ने कुनै कोसिस नगरोस् । हामीले रगत पसिना बगाएर ल्याएको संविधानको रक्षा गर्छौं । संविधानलाई कुल्चने काम गरिन्छ भने त्यसलाई स्वीकार गर्न सकिँदैन,’ नेता नेपालले भने ।

देशमा राजतन्त्र इतिहास भइसकेको र कसैले राजतन्त्र फर्काउने दुस्साहस गर्छ भने त्यसलाई इतिहासको कुडाकर्कटमा फालिने चेतावनी पनि नेपालले दिएका छन् ।

यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई खोप ल्याउने घोषणामा मात्रै नरमाउन पनि सुझाव दिए । ‘खोप प्राथमिकता राखेको छ भन्नुभएको छ तर, नेताहरूको बानी ठूला कुरा गर्ने तर पूरा गर्ने गरी बिग्रिएको छ । तपाईंले त्यस्तो काम नगर्नुहोस्,’ उनले भने ।

सबैको पहँुचमा खोप पुग्नुपर्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा नै मानिसको ज्यान भएको पनि नेपालको भनाइ थियो । ‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु, जनताको पीडा हाम्रो पनि हो, यो खतरनाक प्रकोपविरूद्ध खोप दिन्छु भनेर घोषणा गर्नुभएको छ, घोषणा मात्रै गरेर आनन्दित नहुनुहोस्,’ नेता नेपालले भने ।

उनले अखिलका विद्यार्थीहरूलाई कोरोना भाइरससँग खेलाँची नगर्न पनि सुझाव दिए ।

अखिल फोर्सको नाम फेर्न सुझाव

अनेरास्ववियूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अखिल फोर्सको नाम फेर्न सुझाव दिएका छन् । अखिल फोर्स भन्ने बित्तिकै मुड्की हान्ने समूह हो कि भन्ने अर्थमा धेरैले बुझेकाले सम्भव भए यसको नाम फेर्न सुझाव दिएका हुन् ।

‘अखिल फोर्स भन्ने बित्तिकै मुड्की हान्ने हो कि भन्ने पनि मानिसहरूमा परेको छ । त्यसो हुँदा यसको नाम अखिल भोलेन्टियर्स भन्न पनि सकिन्छ,’ नेपालले भने, ‘कसैले फोर्स नाम राख्यो भन्दैमा त्यही राख्नुपर्छ भन्ने पनि छैन तर, कोहीसँग तर्सेर भाग्ने कुरा पनि हुँदैन ।’

नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेपछि समानान्तर संगठन र गतिविधिहरू भइरहेका छन् । एमाले अध्यक्ष केपी ओली पक्षले युथ फोर्स पुनः अस्तित्वमा ल्याएपछि नेपाल पक्षका विद्यार्थीहरूले अखिल फोर्स बनाएका थिए ।

पार्टीभित्र बाहुबली जत्था अस्तित्वमा ल्याएको भन्दै केही नेताहरूले यसको विरोध गर्दै आएका छन् ।

अखिल फोर्सलाई जनताको मत जित्ने काममा केन्द्रित हुन पनि नेपालले सुझाव दिएका छन् । उनले भने, ‘स्कुल, कलेजमा रचनात्मक काम गर्नुहोस् । समाजमा हुने अन्याय अत्याचारले पिल्सिएका, अपमान बेहोरेकाहरूको पक्षमा बोल्न सक्नुहोस् । मर्यादित संस्कारलाई ग्रहण गर्नुहोस् । अरूको छाडा, विकृत र गलत प्रवृत्तिलाई ग्रहण नगर्नुहोस् । इमान्दारिता, निष्ठा र समर्पण अनेरास्ववियूको मुख्य ध्येय हुनुपर्छ । अखिलमा आबद्ध विद्यार्थीहरू विद्यार्थी र जनताको प्यारो बन्नुपर्दछ ।’

आफूहरू अराजनीतिक व्यक्तिहरूको पंक्ति तयार गर्न नचाहने र विचारले निर्देशित व्यक्तिहरूको पंक्ति बनाउन चाहेको नेपालले बताए ।

त्यसैगरी महाकाली नदीमा भएको अमानवीय घटनाको छानबिन नेपाल र भारत दुवै सरकारले गर्नुपर्ने पनि नेता नेपालले माग गरे ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read