Home समाचार भैंसी व्यापारीसँग कोरोना खोप किनेर लगाउँदा तनाव

भैंसी व्यापारीसँग कोरोना खोप किनेर लगाउँदा तनाव

सन्धिखर्क नगरपालिका–४ का चोपनारायण श्रेष्ठले भारतीय एक भैंसी व्यापारीसँग किनेर एक साताअघि आफू, श्रीमती, छोरा र छिमेकीसमेत सात जनालाई कोरोनाविरुद्धको खोप लगाए । वाङ्लास्थित सन्देश नेवारी खाजाघरभित्र खोप लगाएको तस्बिर उनले सामाजिक सञ्जाल फेसबुकमा राखे ।

यसरी सामाजिक संजाल फेसबुकमातस्बिर सार्वजनिक भएपछि चोपनारायणले सास्ती बेहोर्नुपरेको छ । उनले प्रहरीलाई चारपटक बयान नै दिइसकेका छन् । प्रहरी निगरानीमै रहेका उनले फेसबुकबाट खोप लगाएको तस्बिर भने हटाइसकेका छन् ।

प्रहरीले श्रेष्ठसँग खोप कसरी आयो भन्नेबारेमा सोधपुछ गरेको छ । ‘कोरोनाविरुद्धको खोप कहाँबाट ल्याइयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले भनेका छन्। प्रहरीले बोलाएका बेला आउने गरी श्रेष्ठलाई निगरानीमा राखेको छ। प्रहरीका अनुसार श्रेष्ठले नेपाल–भारत सीमाबाट भैंसी व्यापारीले ल्याइदिएको खोप होटलमा ल्याएर लगाएको बताएका छन् ।

‘खोप लगाउन पाइएन । भैंसी खरिद गर्न गाउँमा आउने व्यापारीले सीमातिर खोप पाइन्छ ल्याइदिऊँ भनेर सोधेका थिए । पाइन्छ भने ल्याइदिनूस् भनें, एक महिनापछि खोप ल्याइदिए,’ श्रेष्ठले भनेका छन्, ‘वाङ्लामा मेडिकल चलाउने मेरो मामाको छोरो दीपक श्रेष्ठलाई बोलाएर म, श्रीमती, छोरोसहित छिमेकीले खोप लगायौं ।’ भैंसी व्यापारीलाई आफूले फेरि देखे चिन्ने बताए पनि उनले घर र ठेगाना थाहा नभएको बताए । श्रेष्ठले प्रतिडोज खोप एक हजार रुपैयाँमा किनेको बताए । त्यो खोप एक पटक लगाए पुग्ने भैंसी व्यापारीको भनाइ थियो ।

प्रहरीले उनका छोरालाई पनि बयानका लागि बोलाउने गरेको छ । खोप लगाइदिने दीपक श्रेष्ठ पनि प्रहरी निगरानीमा छन् । उनले आफूले भेरोसेल खोप लगाइदिएको प्रहरीलाई बताएका छन् । खोप लगाउनेहरू २० देखि ५८ वर्षसम्मका छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read