Home समाचार सुर्य चिन्हबाट जितेर रुखमा भोट हाल्ने यी हुन् एमालेका २२ सांसद (नामावली...

सुर्य चिन्हबाट जितेर रुखमा भोट हाल्ने यी हुन् एमालेका २२ सांसद (नामावली सहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ । मतदानमा २ सय ४९ जना सांसद सहभागी भएकोमा एक सांसदले तटस्थमा मतदान गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार बिहान मात्रै विश्वासको मतका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएर आइतबारै विश्वासको मत लिएका हुन् । विघठित प्रतनिधिसभा पुनस्र्थापित भएपछि बैठक बोलाएको पहिलो दिनमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका हुन् ।

उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका केही सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् । देउवाको पक्षमा नेपाल र ओली दुवै समूहका केही सांसदले फ्लोर क्रस गरी मतदान गरे भने राप्रपा र नेमकिपाका एक-एक सांसदले मतदान गरेनन् ।

नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो । पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । आइतबार राति संसद्मा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन् ।

त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद मतदानको समयमा बैठककक्षबाट बाहिरिए । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका आठ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरे ।

फ्लोर क्रस गर्नेहरु माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।   

विश्वासको प्रस्तावमाथि भएको छलफलका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री देउवाले ओली बैठकमा नआएकोबारे कुरा उठाएका थिए । दाहालले ओली प्रधानमन्त्री देउवाको शपथमा पनि नआएको उल्लेख गर्दै उनले संसद् बैठकबाट आफ्नो कुरा राख्ने आफूले अपेक्षा गरेको बताएका थिए । प्रधानमन्त्री देउवाले ओली आएको भए आफू खुसी हुने बताएका थिए ।

छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिएपछि ओली बैठकमा गएका हुन् । उनले बैठकस्थलमा प्रधानमन्त्री देउवासँग हात मिलाए । देउवा प्रधानमन्त्री भएपछि उनीहरूबीच यो पहिलो भेट हो । यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतदानमा सहभागी नहुने भन्दै बाहिरिएका थिए ।

नेता नेपालसँगको छलफलपछि मतदान प्रक्रिया सुरु हुनुभन्दा पहिला नै उनीहरू संसद् भवनबाट बाहिरिए । संसद्मा अनैतिक काम भएकाले आफूहरू मतदान प्रक्रिया सहभागी नभएको सांसद झपट रावलले बताए । आफूहरूको उद्देश्य संसद् बचाउनुभएकाले ठाकुर र महतोले विश्वासको मत दिने भएपछि संसद् बच्ने उद्देश्य पूरा भएको उनले बताए ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read