टिकटकले झन्डै ७३ लाख प्रयोगकर्ताको अकाउन्ट निलम्बन गरेको छ ।
टिकटकले यो वर्षको पहिलो तीन महिनामा उमेर नपुगेका बालबालिकाले चलाइरहेको आशङ्का गरिएका अकाउन्टहरू निलम्बन गरेको हो । निलम्बित अकाउन्टका बारेमा टिकटकले पहिलो पटक सार्वजनिक गरिएको समुदाय निर्देशिका प्रतिवेदनमा निलम्बित गरिएका अकाउन्टहरू कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको जनाइएको छ ।
बालबालिकालाई सुरक्षित राख्न कम उमेरका प्रयोगकर्ताको हटाइएको अकाउन्ट सङ्ख्या सार्वजनिक गरिएको टिकटकका सुरक्षा र विश्वास प्रमुख कोर्म्याक कीननले बताएका हुन् । टिकटकका अनुसार तीन महिनामा नियम पालना नगरिएका छ करोड १९ लाख ५१ हजार तीन सय २७ भिडियोहरू हटाइएका छन् ।
तीमध्ये ८२ प्रतिशत भिडियो अरूले हेर्नुअगाडि ९१ प्रतिशत भिडियोमा गुनासो आउनुभन्दा अगाडि र ९३ प्रतिशत भिडियो प्रकाशित भएको २४ घण्टाभित्रै हटाइएका हुन् । त्यस्तै, कुल एक करोड ११ लाख ४५ हजार पाँच सय १४ अकाउन्टहरू निर्देशिका र प्रयोगका सर्तहरू पालना नगरेका कारण हटाइएका छन् ।
टिकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउने नियम छ । त्यस्तै, टिकटकमा १६ वर्ष नपुगेका प्रयोगकर्तालाई सन्देश आदानप्रदान गर्न तथा प्रत्यक्ष भिडियो प्रसारण गर्ने सुविधा नदिएको बताएको छ । तर, गलत जन्म मिति राखी उमेर पुगेको बताएर उमेर पुष्टिको नियमलाई तोड्न सकिने हुँदा टिकटकमा कम उमेरका बालबालिका बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।