Home Uncategorized विश्‍वकप छनौटमा नेपाल र जाेर्डनबीचकाे फुटबल आज राति

विश्‍वकप छनौटमा नेपाल र जाेर्डनबीचकाे फुटबल आज राति

सन् २०२२ मा कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलहरु कुवेतमा भइरहेको छ ।नेपालले कुवेतमा आज आफ्नो दोस्रो एवम् समग्रमा समूहको सातौं खेल जोर्डनसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपाल अबदुल्लाह अलमुताइरीको प्रशिक्षण र किरण चेम्जोङको कप्तानीमा युवा खेलाडीको बाहुल्यता रहेको टोलीका साथ मैदानमा उत्रिनेछ ।
यसअघि गएको बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० ले हराएको थियो । उक्त खेलमा अन्जन विष्‍ट र नवयुग श्रेष्‍ठले गोल गरेका थिए ।

नेपालले हालसम्म जोर्डनसँग ३ पटक खेलेको छ । नेपालले जोर्डनसँग कुल १३ गोल व्यहोर्दा १ गोल मात्र गर्न सकेको छ । सन् २०११ मा विश्‍वकप छनौटकै खेलमा जोर्डनले नेपाललाई ९-० ले हराएको थियो ।त्यसपछि घरेलु मैदानमा १-१ को बराबरीमा रोक्न सफल नेपालले यसै विश्‍वकप छनौटको अघिल्लो खेलमा ३-० को हार व्यहोरेको थियो ।प्रशिक्षक अलमुताइरीले नेपाली टोलीले कुनै पनि अवस्थामा हार नमान्‍ने बताएका छन् । जोर्डनविरुद्ध विगतका नतिजालाई तत्काल ध्यान नदिने र आजको खेलमा केन्द्रित रहेर जोर्डनलाई हराउने उनको भनाई थियो ।

त्यसैगरी उनले खेल नराम्रो भएमा खेलाडीलाई दोष नदिई आफूलाई दोष दिने कुरा यसपटक पनि दोहोर्‍याएका छन् । इराकसँगको मैत्रीपूर्ण खेलअघि पनि अलमुताइरीले यस्तै भनाई राखेका थिए ।फुटबलमा खेल गोलरहित बराबरीबाट सुरु हुने र खेलको नतिजा मैदानमा हुने प्रदर्शनमा भर पर्ने दाबी गर्दै प्रशिक्षक अल्मुताइरीले थपे, ‘हामीले खेलको प्रत्येक मिनेट राम्रो प्रदर्शनका लागि प्रयास गर्नेछौं । सुरुदेखि नै हाम्रो लक्ष्य जीत नै हुनेछ ।’

नेपाल सम्मिलित समूहबाट अस्ट्रेलिया, कुवेत र जोर्डन विश्‍वकप छनोटको तेस्रो चरण पुग्‍ने होडबाजीमा छन् । अहिलेसम्म खेलेका सबै पाँच खेल जितेको अस्ट्रेलिया १५ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ ।त्यसैगरी ६ खेलबाट कुवेत र ५ खेलबाट जोर्डनको समान १० अंक छ । नेपालले दुई जीतबाट ६ अंक जोडेको छ र चाइनिज ताइपेई ६ वटै खेल हार्दा अंकविहीन छ ।

नेपाललाई सन् २०२२ को कतार विश्वकप छनोटको अर्को चरणमा पुग्‍न कठिन छ । चाइनिज ताइपेई विश्वकपको तेस्रो चरणमा पुग्‍ने होडबाट बाहिरिसकेको छ । नेपाल अंकगणितीय रुपमा त्यो होडमा कायम छ ।यद्यपि नेपालको एसियन कपमा छनौट हुने आशा भने जीवितै रहेको छ । आज जोर्डनलाई हराउन सकेमा एसियन कपको अर्को चरणमा सोझै पुग्‍ने सम्भावना प्रवल हुनेछ अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read