Home समाचार यी तीन जिल्लामा छैन निषेधाज्ञा, कारण के ?

यी तीन जिल्लामा छैन निषेधाज्ञा, कारण के ?

नेपालमा यतिबेला कोरोना संक्रमण तीव्र गतिले बढीरहेको छ । त्यसो त यसलाई नियन्त्रणमा लिनका लागि देशका ७४ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । तर, ३ वटा जिल्ला (खोटाङ, तेह्रथुम र मनाङ) मा भने हालसम्म निषेधाज्ञा लागू भएको छैन । निषेधाज्ञा नभएपनि यी जिल्लामा नागरिकहरु स्वयंमले अतिआवश्यक र निर्माणका सवारीसाधन, खाद्यान्न पसलबाहेकका अन्य पसलहरु बन्द गरेका छन् । यस्तै, सभा, सम्मेलन, विद्यालय, कलेज बन्द नै रहेका छन् ।

सरकारले पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय र काठमाडौँ उपत्यका, तराईमा सक्रिय संक्रमितको संख्या ५ सय पुगेमा स्थानीय प्रशासनले नै निषेधाज्ञा जारी गर्न सक्ने निर्देशन दिएको थियो । नागरिक आफै संयमित र अनुशासित भएकाले जिल्लामा निषेधाज्ञा लगाउन आवश्यकता नदेखिएको तीनै जिल्लाका सम्बन्धित अधिकारीहरु बताउँछन् ।

निषेधाज्ञा नभए पनि अति आवश्यक काम बाहेक तेह्रथुम बासी बाहिर हिँडडुल गरेका छैनन्। बिहान ६ बजेदेखि १० बजेसम्म अतिआवश्यक पसलहरु सन्चालनमा आउँछन् र दिउँसो बन्द हुन्छन्उ। जिल्लामा आजसम्म कोरोना सक्रिय संक्रमित संख्या १ सय २१ रहेको र १ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी मनाङमा कोरोनाको पूर्ण स्वास्थ्य मापदण्ड लागू गरी जिल्ला भित्रका सबै कार्य सन्चालन रहेको छ । यहाँका बासी संक्रमणबाट बाँच्न आफै नै सचेत रहेको जिल्ला प्रशासन कार्यालयकी सूचना अधिकारी बताउँछिन् । उनी भन्छिन्, ‘संक्रमण नहोस भनेर नागरिक आफै सचेत हुनुहुन्छ ।’ हाल सम्म मनाङमा ३५ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

यसैगरी खोटाङमा निषेधाज्ञा जारी नगरिए पनि व्यवसायीहरु आफैले कोरोना संक्रमण फैलिन नदिनका लागि अति आवश्यक सामाग्रीको पसल बाहेक अन्य पसल बन्द गरेको कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठ बताउँछन् । ‘हामीले यहाँका नागरिकलाई पसल, व्यवसाय बन्द गर्नुस् भन्नै परेन,’ उनले भने, ‘यहाँका नागरिक स्वयम् नै बुझेर कोरोना महामारीलाई नियन्त्रण गर्न लागि पर्नुभएको छ ।’

खाद्यान्नका सवारी सधान, एकै ठाउँमा बसेर गरिने निर्माणका कार्य संचालन भइरहेका छन् भने खाद्यान्नका पसल विहान ७ बजे देखि ९ बजे सम्म खुलेका छन् । सोमबार सम्म जिल्लामा १ सय ३६ जना संक्रिय संक्रमित रहेका छन् भने १ जनाको संक्रमणबाट मृत्यु भएको छ । ९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read