Home Uncategorized किन भेटिनन रानी ऐश्वर्यले मिस नेपाल रुबीलाई ?

किन भेटिनन रानी ऐश्वर्यले मिस नेपाल रुबीलाई ?

नेपालमा मिस नेपालको सुरुवात बीस २०५१ बाट भएको हो। विस २०५१ (सन् १९९४)मा मिस नेपाल बनेकी  रुबी राणा शाह नेपालकी प्रथम मिस नेपाल हुन् । मिस नेपालले यो लामो यात्रा तय गरिरहँदा आज मिस नेपालकी सुन्दरीहरु ‘मिस वल्र्ड’, ‘मिस युनिभर्स’जस्ता अन्तर्राष्ट्रिय प्लेटफमका कारण विश्वभरबाट माया र सम्मान पाउन थालेका छन् ।

तर, रुबी राणाले सुरुगर्दा यात्रा त्यति सजिलो कहाँ थियो र ? त्यसैले त होला उनले आफ्नै देशबाट पनि सोचेको जस्तो माया र सम्मान पाउन नसकेको गुनासो गर्ने गरेकी छिन् ।

हालै उनले २७ वर्ष अघिको आफूले भोग्नु परेको एउटा नमिठो घटना सेयर गरेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमा मिस वल्र्ड १९९५ ऐश्वर्या राय बच्चन, नेपालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीसँगको आफ्नो एउटा फोटो सेयर गरेकी छिन् । यो फोटो उनले यतिकै सेयर गरेकी होइनन्, योसँग उनको २७ वर्षदेखि मनमै खड्किरहेको एउटा प्रश्न र नमिठो सम्झना जोडिएको छ ।

आजसम्म पनि बिर्सन नसकेको त्यो नमिठो सम्झनालाई रुबी यसरी शब्दमा वयान गर्छिन् “यो तस्बीर त्यति बेलाका सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारीज्यु, विश्व सुन्दरी र पेप्सीकोलाकी ब्रान्ड एम्बेसडर रहेकी ऐश्वर्य राय र म प्रथम सुन्दरी (रुबी राणा)को हो ।”

त्यो दिन रुबी एकदमै खुशी थिइन । खुशी नहुन् पनि कसरी ? उनी ‘उकाली ओराली’ गीतकी गीतकार सुन्दर अनि आफ्नी प्यारी र सम्पूर्ण जनताकी प्रिय रानीलाई भेट्न जाँदै थिइन् ।तर, जब उनी त्यहाँ पुगिन्, उनीप्रति देखाइएको व्यवहार र अर्काकी देशकी छोरीलाई काखा अनि आफूलाई पाखा गरेको त्यो व्यवहारले अघिसम्म हाँसिरहेको उनका आँखाबाट आसुका धारा बग्न थाले ।

“त्यही दिन हाम्रो, म रुबी राणा शाह अनि विश्व सुन्दरी ऐश्वर्या रायको बडा महारानी ऐश्वर्य राज्य लक्ष्मी शाहसँगको दबारमा दर्शन भेटको कार्यक्रम तय भएको थियो । एकदमै खुशी लागेको थियो रानीसँग भेट्न र कुराकानी गर्न पाउने अपेक्षाले,” रुबी अगाडि थप्छिन्, “तर एक्कासी मलाई आयोजकबाट तिमी जानुपर्दैन रानीले विश्व सुन्दरीलाई मात्र दर्शन टक्राउने भनेपछि मनै खिन्न बनायो । म असमन्जसमा परेँ ! किन र ? यहि प्रश्न थियो मनमा । “खै ! थाहा भएन ।”

किन होला आफ्नै देशको रानीलाई भेट्न नपाएको भन्ने उनको मनमा उब्जिएको प्रश्नको उत्तर उनले आजसम्म पनि पाएकी छैनन् । आफ्नै माइतीमा छोरीलाई प्रवेश निषेधाज्ञा गरे जस्तो हिन भावनाले उनलाई आफ्नो ताजको महत्व र चमक धमिलो लाग्न थालेको थियो ।बडामहारानीसँगको भेटपछि उनीहरुको भेट तत्कालीन प्रधानमन्त्री अधिकारी दम्पतीसँग थियो । त्यहीँबाट भारी मन गरेर उनीहरु बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गए ।

तर, प्रधानमन्त्री र उनकी श्रीमतीले गरेको आदर सत्कार र रमाइलो कुराकानीले उनको मन प्रफुल्लित भयो । “अभिभावक जस्तो व्यवहारले म आफूलाई छोरी जस्तो अनुभव हुन थाल्यो । उहाँले भन्नुभयो, हामी देशवासीहरु एकदमै खुशी छौं तिमीलाई नेपाल सुन्दरी देख्न पाउँदा । नेपालको यो प्रथम प्रयास हो । निरन्तरता जारी रहोस ।”

यसरी २७ वर्षदेखि मनमा खड्किरहेको तीतो घटनालाई रुबी राणा शाहले सोमबार साँझ आफ्नो फेसबुक वालामा पोस्ट गरिन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read