Home समाचार नयाँ सरकार बन्ने तीन विकल्प!

नयाँ सरकार बन्ने तीन विकल्प!

नेपालको संवैधानिक व्यवस्थानुसार वर्तमान  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन्  । अहिलेको सरकार नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सकिने व्यवस्थाअुनसार बनेको थियो । विश्वासको मत लिन नसकेपछि बहुमतको सरकार काम चलाउन अवस्थामा पुगेको छ ।

 प्रधानमन्त्रीले आफूलाई सरकार सञ्चालनमा कठिनाइ भएपछि नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आज प्रतिनिधिसभामा विश्वासको मत प्रस्ताव राख्नुभएको थियो ।  उहाँका पक्षमा ९३, विपक्षमा १२४ र तटस्थमा १५ मत परेको थियो ।  संविधानको धारा १०० को उपधारा (३) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था छ ।

नेपालको संविधान धारा ७७  मा प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्थाअन्तर्गत (१) ख मा नेपालको संविधानको धारा १००  बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजविरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा भन्ने व्यवस्था छ ।  “संवैधानिक व्यवस्थाअनुसार धारा ७७ (३) बमोजिम कामचलाउ सरकार बनेको छ, अब संविधानको ७६ (२) बमोजिम ३० दिनभित्र संसदले संयुक्त सरकार दिनुपर्छ”,

अब राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गत गर्न आव्हान गरेपछि नयाँ सरकार बनाउने कसरत शुरु भएको छ ।

धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी  व्यवस्था  छ ।  धारा (२) उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने  दुई वा दुई भन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था  छ ।

उक्त व्यवस्थानुसार प्रतिनिधिसभामा अहिले कायम रहेका २७१ सदस्यमध्ये १३६ पुर्याउनुपर्ने हुन्छ । अहिले विश्वासको मत नदिने १२४ छन् । बहुमतका लागि थप १२ मत आवश्यक पर्छ ।  धारा ७६ को (४) उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले आफू नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

यदि सो अवस्थामा पनि सरकार बन्न सकेन भने तेस्रो चरणमा संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्थामा नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकी प्रधानमन्त्री ओली पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नेपालको संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ ।

धारा ७६ मा मुख्यतः चार ढंगले मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । धारा ७६ को (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । मौजुदा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन । एउटै दलको बहुमत नहुँदा धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त हुने अवस्था संसद्को गणितमा देखिँदैन ।

 प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) सँग १२१ सांसद् छन् । दोस्रो ठूलो दल नेपाली कांग्रेससँग ६३ (दुई निलम्बित), नेकपा (माओवादी केन्द्र) सँग ५३ (चार निलम्बित), जनता समाजवादी पार्टी नेपालसँग ३४ (दुई निलम्बित) तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका र स्वतन्त्र एकएक सांसद छन् ।

धारा ७६ को उपधारा २ अनुसार कस्तो गठबन्धन बन्न सक्छ : 

१) काँग्रेस-माओवादी केन्द्र- जसपा : सोमबार प्रधानमन्त्री ओलीले विश्व को मत लिदा एक ठाउमा आएका काँग्रेस-माओवादी केन्द्र र सिंगो जसपा एक ठाउमा आएमा काँग्रेसका ६१, माओवादीका ४८ र जसपाका ३२ गरि १४१ हुन्छ जुन अहिले संसदमा कायम रहेका २७१ सांसद मध्ये बहुमतको लागि चाहिने १३६ भन्दा बढी हो । तर जसपामा काँग्रेस-माओवादीसँग गठबन्धन बनाउने कुरामा एकमत छैन । महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सहमत नरहेकाले उनीहरु यस गठबन्धनमा सजिलै आउने कुरामा अनेकौं आशंका रहेका छन् ।

२) एमाले- जसपा (ठाकुर पक्ष) : अहिले एमालेमा देखिएको आन्तरिक विवादका कारण पनि प्रधानमन्त्री ओलीले आफ्नो सरकार बचाउन निर्णायक भूमिका खेल्न सकेनन् । एमालेको नेपाल पक्षले साथ दिएको भए जसपा विभाजन भएर पनि ओलीको पक्षमा लाग्ने तयारीमा रहेको बुझिएको थियो । नेपाल पक्षले असहयोग गर्नेक्रममा राजीनामा सम्म गर्ने भन्दै दबाब बढाएपछि ओलीले जसपा विभाजनको योजना स्थगित गरेको सजिलै बुझ्न सकिन्छ । अब ओलीले नेपाल पक्षलाई छिटो विश्वासमा लिन सकेमा आफ्नै नेतृत्वमा या आफ्नो पार्टीको अर्को नेताको नेतृत्वमा जसपाको ठाकुर पक्षलाई लिएर सरकार बनाउने विकल्प अहिले पनि खुला रहेको छ । एमालेका १२१ र जसपा ठाकुर पक्षमा १७ सांसद रहेका छन् । जुन १३८ हुन्छ । र यो विकल्प धेरै हदसम्म सम्भव पनि देखिन्छ ।

३) एमाले र काँग्रेस गठबन्धन : राजनीतिमा जे पनि सम्भव हुन्छ । अहिलेको संसद्को अंकगणितमा एमाले र काँग्रेसको गठबन्धन बनेर सरकार निर्माण हुने विषयलाई पुरै नकार्न सकिन्न । यद्यपी यो सम्भावना कमै छ । संबिधानको धारा ७६ को उपधारा २ अनुसार सरकार नबनेमा ठुलो दलको नेताको हैसियतमा ओली फेरी प्रधानमन्त्री बन्ने संबैधानिक आधारनै बाँकी रहेकाले उनले काँग्रेसलाई लिएर वा काँग्रेसलाई समर्थन गरेर सरकार बनाउने प्रयास गर्छन् जस्तो देखिदैन । तर संबैधानिक आधार भन्दा बाहिर अहिले कोरोना महामारीले अस्तव्यस्त भएको अवस्थामा दुई प्रमुख दल मिलेर सरकार बनाएमा देशमा सकारात्मक वातावरण बन्ने र यसको असर प्रदेश सरकारहरुमा पनि देखिने हुनाले यो असम्भव देखिदैन । काँग्रेसले ओलीलाई समर्थन गर्न अस्वीकार गरेमा ओलीको ठाउमा एमालेबाट अन्य व्यक्तिले सरकारको नेतृत्व गरेर या काँग्रेस सभापति देउवाको नेतृत्वमा एमालेको समर्थनमा सरकार बनाउने विकल्प पनि राजनीतिक रुपमा देखिन्छ ।

यी तीन विकल्प भएपनि संबिधानको धारा ७६ को उपधारा २ अनुसार सरकार नबनेमा ठुलो दलको नेताको हैसियतमा ओली फेरी प्रधानमन्त्री बन्ने संबैधानिक आधारनै बाँकी रहेकाले ओलीले संबिधानको यो प्रावधान अनुसार सरकार बनाउने प्रयास नै नगर्न सक्छन् । त्यसैले संबिधानको धारा ७६ को उपधारा २ अनुसार पहिलो विकल्प अनुसार काँग्रेस- माओवादी केन्द्र र जसपाको यादव पक्ष गरेर १२४ हुने जसपाको ठाकुर पक्षलाई मनाएर सरकार बनाउने आधार देखिएकाले यो अनुसार सरकार गठन नभएमा धारा ७६ को उपधारा ३ अनुसार फेरी ओली नै प्रधानमन्त्री बन्ने निश्चित छ । ठुलो दलको नेताको हैसियतमा ओली फेरी प्रधानमन्त्री नियुक्त हुने सम्भावना अहिलेको राजनीतिक परिदृश्यमा सबैभन्दा बलियो देखिएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read