Home खेलकुद काठमाडौंमा आजदेखि त्रिदेशीय टी-२० क्रिकेट श्रृंखला सुरु हुँदै

काठमाडौंमा आजदेखि त्रिदेशीय टी-२० क्रिकेट श्रृंखला सुरु हुँदै

नेपाल, मलेसिया र नेदरल्यान्डस् सम्मिलित त्रिदेशीय टी-२० क्रिकेट श्रृंखला आजदेखि काठमाडौंमा सुरु हुँदै छ । उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । खेल दिउँसो सवा १ बजेपछि कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुने छ ।

प्रतियोगिता सुरु हुनुअघि नेपाल क्रिकेट संघ (क्यान)ले हिजो शुक्रबार पत्रकार सम्मेलन गर्दै जर्मनीमा निर्मित ट्रफी सार्वजनिक गरेको थियो । ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, मलेसियाका कप्तान फैज अहमद र नेदरल्याड्सका कप्तान पिटर सिलार उपस्थित थिए ।

नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा मल्लसहित दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारी रहेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का काँधको चोटका कारण प्रतियोगितामा सहभागी नहुने भएका छन् । उनको स्थानमा सन्दीप जोरालाई खेलाइने भएको हो । खड्का आइतबार अभ्यास खेलका क्रममा घाइते भएका थिए ।

क्यानका प्रबन्ध निर्देशक रौनक मल्लले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै सीमित दर्शकलाई मात्र मैदानमा दर्शकका रुपमा प्रवेश दिइने बताए ।

डबल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल खेल यही वैशाख ११ गते हुने छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read